


जुम्लामा दुई वडाध्यक्षमाथि आक्रमण, चक्कु प्रहारबाट एक गम्भीर घाइते

मुगु — जुम्लाको तिला गाउँपालिका–४ का वडाध्यक्ष ललितबहादुर शाहीमाथि सोमबार सामूहिक आक्रमणसहित चक्कु प्रहार भएको छ। अनुगमन सकेर फर्किने क्रममा स्थानीय युवाको समूहले उनीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका ४२ वर्षीय शाहीको अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। प्रहरी निरीक्षक असिम हमालका अनुसार शाहीले आक्रमणमा संलग्न भएको आरोप तीन जनामाथि लगाएका छन्। तीमध्ये एक जनालाई प्रहरीले जुम्ला बसपार्कबाट पक्राउ गरेको छ भने अन्य दुईजनाको खोजी भइरहेको छ। आक्रमणमा संलग्नहरू २०–२५ वर्ष उमेर समूहका रहेका छन्। प्रहरीले हालसम्म उनीहरूको नाम सार्वजनिक गरेको छैन।
उता सोही गाउँपालिका–३ का वडाध्यक्ष ३८ वर्षीय धनबहादुर शाहीमाथि पनि ढुङ्गा र मुक्काले आक्रमण भएको छ। उनले भने, “ममाथि ढुङ्गा र मुक्का प्रहार भयो, तर टाउकोमा हेल्मेट भएकाले गम्भीर चोट लागेन।”
दुवै वडाध्यक्ष अहिले उपचारमा छन्। आक्रमणको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ।

