नवलपुरमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकजनाको मृत्यु, ५ घाइते


नवलपुर — आज बिहान नवलपुरको देवचुली नगरपालिका- २ दुम्कौली चोकमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

पूर्व-पश्चिम राजमार्गमा बिहान ८:३० बजे बुटबलबाट नारायणघाटतर्फ बिरामी लिएर आउँदै गरेको ना ४ च ४६४६ नम्बरको एम्बुलेन्स र रजहर चोकबाट दुम्कौलीतर्फ जाँदै गरेको दिब्य एकेडेमी बोर्डिङ स्कुल केउरेनीको बा २० च ७२ नम्बरको स्कुल भ्यान ठक्कर खाएका थिए।

स्कुल भ्यान चालक ५२ वर्षीय कुल प्रसाद सुबेदीको टाउको र दुबै खुट्टामा चोट लागेर पुरानो मेडिकल कलेज भरतपुर चितवन लगिएको थियो। उपचारका क्रममा चिकित्सकहरूले बिहान ९:२० बजे उनको मृत्यु भएको घोषणा गरेका छन्।

एम्बुलेन्समा सवार घाइतेमध्ये लक्ष्मी राइ (३६ वर्ष), इसु राइ (२५ वर्ष), र स्नेहा परियार (२५ वर्ष) लाई मध्यम चोट लागेको छ। यी घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

त्यसैगरी, स्थानीय भविष्य पोली क्लिनिकमा उपचार पछि १० वर्षीया आयुसा गौतम र ६ वर्षीया सोखनिया रोक्कालाई सामान्य चोटसहित डिस्चार्ज गरिएको छ। प्रहरीले दुर्घटनाको कारण अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया