

प्रतिपक्ष गृहमन्त्रीको राजीनामामा अडिग, प्रतिनिधिसभा बैठक पुनः स्थगित

काठमाडौं — गृहमन्त्री रमेश लेखकको राजीनामाको मागमा अडिग रहेका प्रमुख प्रतिपक्षी दलहरूको कारण प्रतिनिधिसभाको बैठक फेरि स्थगित गरिएको छ। संसद् सचिवालयले दोस्रोपटक सूचना टाँस गर्दै बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएको हो।
सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार मंगलबारको बैठक सूचना टाँसमार्फत स्थगित गरिएको हो। बैठक सञ्चालनका लागि सभामुख घिमिरेले दलहरूसँग छलफल गरे पनि सहमति जुट्न सकेन।
छलफलमा सहभागी प्रमुख प्रतिपक्षी दलहरूले आफ्नो अडान कायम राख्दै गृहमन्त्री लेखकको राजीनामा माग र भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने अडान दोहोर्याएका थिए।
प्रतिपक्षी दलहरूले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा संलग्न रहेको भन्दै उनी पदबाट हट्नुपर्ने माग गर्दै आएका छन्।

