मनसुनजन्य विपदमा हुनसक्ने स्वास्थ्य महामारी रोकथामका लागि पूर्व तयारी सुरु


काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् शुरू हुनुअघि नै आवश्यक तयारी तथा रोकथामका विषयमा काम अघि बढाएको छ । ​

वर्षायाम शुरू हुने बेला विभिन्न संक्रमण, रोग तथा महामारी देखिने सम्भावना भएकाले समयमै तयारी प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी बैठक राखेर विभिन्न ६ निर्णय गरेका हुन् ।

मन्त्री पौडेलले स्वास्थ्य अधिकारीहरूसमक्ष विपद् आइसकेपछि मात्र तात्ने परम्परा रोक्न समयमै सम्भावित समस्या पहिचान गरेर तयारीका साथ महामारीको स्थिति नियन्त्रणबाट बाहिर जान नदिनका लागि आवश्यक सबै सहयोगका लागि आफू तयार रहेको बताए ।

सोहीअनुसार विपद् प्रतिकार्य तथा महमामारी नियन्त्रणमा संलग्न स्वास्थ्य अधिकारीहरूसँग मन्त्री पौडेलले डाकेको बैठकले तयारीको काम थालिहाल्ने निर्णय गरेको हो ।

अब महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अनुसार सम्भावित महामारी हुने स्थानको पहिचान गरी सरसफाइ र शुद्ध पानीको प्रयोग र व्यवस्थापनका लागि आवश्यक तयारी गर्नेछ ।

साथै, शुद्ध पानीको प्रयोगका लागि स्थानीय तहसम्मै प्रभावकारी सूचना सामग्री सम्प्रेषणका लागि समेत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले काम थाल्नेछ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तहका द्रुत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरेर आवश्यक जानकारी संकलन तथा तयारी अघि बढाउनेछ ।

महाशाखाले सातै प्रदेशमा स्वास्थ्यजन्य विपद् नियन्त्रणका लागि तालिमप्राप्त व्यक्तिको विवरण अद्यावधिक गरेर आवश्यकता अनुसार खटाउने व्यवस्था गर्नेछ ।

यसैगरी, राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र तथा राष्ट्रिय/प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रसँग आवश्यक समन्वय गरी आवश्यक तयारी तथा प्रतिक्रियाका काम समेत अघि बढाइने भएको छ ।

मन्त्री पौडेलको प्रतिबद्धता अनुसार संक्रामक रोग ऐन २०२० लाई बदलिँदो परिस्थिति तथा आवश्यकता अनुसार संशोधन गर्नका लागि समेत स्वास्थ्य सेवा विभागले एक साताभित्र आवश्यक तयारी गरेर मन्त्रालयमा पेस गर्ने समेत बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया