


माओवादीले पनि माग्यो गृहमन्त्री लेखकको राजीनामा

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले ‘भिजिट भिसा’ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको बैठकले लेखकले पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग सापकोटाले भने, ‘स्वतन्त्र र निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्छ।’ उनले कांग्रेसभित्रबाट पनि राजीनामाको माग उठेकाले अब लेखकमाथि पदमा बसिरहन उचित नहुने बताए।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि नैतिकताका आधारमा लेखकमाथि राजीनामाको दबाब दिएका थिए।
तर, सत्तारूढ नेपाली कांग्रेसले भने लेखक भिजिट भिसा प्रकरणमा संलग्न नरहेको ठहर गर्दै राजीनामाको आवश्यकता नरहेको निष्कर्ष निकालेको छ। प्रवक्ता प्रकाशशरण महतका अनुसार, लेखकले आफू निर्दोष भएको स्पष्ट पारेपछि पार्टीले उनको भनाइ स्वीकारेको हो।
भिजिट भिसामा विदेश पठाउने क्रममा गृह मन्त्रालयका केही कर्मचारीको संलग्नता सार्वजनिक भएपछि गृहमन्त्री लेखक विवादमा तानिएका हुन्। यसै प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। भट्टराईलाई गृहमन्त्री लेखकले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा पठाएका थिए।

