वैदेशिक रोजगारीको प्रलोभनमा लाखौं ठगी गर्ने दुई जना पक्राउ


काठमाडौं- आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाई बेरोजगार युवायुवतीहरूबाट लाखौं रुपैयाँ असुलेर फरार भएका दुई जना ठग पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बारा स्थायी घर भई काठमाडौंको बुढानीलकण्ठमा बसोबास गर्दै आएका ४१ वर्षीय विष्णुराज उप्रेती र पाँचथर स्थायी घर भई ललितपुरमा बस्दै आएका ५८ वर्षीय शन्त कुमार चेम्जोङ रहेका छन्।

उप्रेतीले एक व्यक्तिबाट पाँच लाख ७३ हजार रुपैयाँ र चेम्जोङले अर्का पीडितबाट १२ लाख रुपैयाँ लिएर वैदेशिक रोजगारीमा पठाइदिने आश्वासन दिएका थिए। तर, पैसा लिएपछि विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार दुवै अभियुक्तलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

प्रतिक्रिया