

बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर

बर्दिया- बर्दियामा शनिबार राति भएको दुई मोटरसाइकलबीचको भीषण ठोक्काइमा दुई जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। दुर्घटना राति साढे ११ बजे मधुवन नगरपालिका–८, लालसिंहचोकस्थित सडकमा भएको हो।
ज्यान गुमाउनेमा मधुवन नगरपालिका–८ लालिबजारका ३२ वर्षीय टंकबहादुर बिसी र गुलरिया नगरपालिका–२ का देवानन्द यादव छन्। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डीएसपी चक्रडम्मर पालका अनुसार दुवैको जिल्ला अस्पताल गुलरियामा मध्यराति उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका गुलरिया–२ का ३३ वर्षीय अनुपम यादवको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ।
प्रहरीका अनुसार, सानोश्रीबाट गुलरिया जाँदै गरेका देवानन्द यादवले चलाएको भे १३ प २६६९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेका टंकबहादुर बिसीको भे ६ प ५४१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।
दुवै मृतकको शव पोस्टमार्टमपछि आइतबार दिउँसो आफन्तले बुझेका छन्।

