रवि र छविको रिट निवेदन आज पनि ‘हेर्दाहेर्दैमा’


काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले दायर गरेका बन्दी प्रत्यक्षीकरण रिट निवेदन बिहीबार पनि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा मंगलबारदेखि सुनुवाइ सुरु भएको हो । बुधबार भने न्यायाधीश सुवेदीको संवैधानिक इजलासमा परेका कारण नियमित इजलास बस्न नसक्दा सुनुवाइ रोकिएको थियो ।

बिहीबारको सुनुवाइमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस प्रस्तुत गरे । त्यसपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले आफ्ना तर्क राखे । त्यसक्रममा सरकारी पक्षका सह-सरकारी वकिल गोविन्द खनाल, लोकराज पराजुलीलगायतले बहस अघि बढाएका छन् ।

सरकारी वकिलको बहस शुक्रबारसम्म सकिने अनुमान गरिएको छ । त्यसपछि पीडित पक्षका कानुन व्यवसायीले जवाफ दिनेछन् । अन्तिम चरणमा जवाफी बहस हुनेछ ।

प्रतिक्रिया