सिरियल किलर ‘डाक्टर डेथ’ : नहरमा फाल्थे हत्या गरिएका शव, गोहीले खाएर मेटिन्थ्यो प्रमाण


राजस्थान – भारतकाे दिल्ली प्रहरीले राजस्थानको दौसा जिल्लाबाट पक्राउ गरेको एक कुख्यात सिरियल किलरले प्रहरी अनुसन्धानमा चकित पार्ने खुलासा गरेका छन्। अलीगढ़का ६७ वर्षीय आयुर्वेद चिकित्सक देवेन्द्र शर्मालाई ‘डाक्टर डेथ’ का रूपमा चिनिन्छ।  उनले आपराधिक गतिविधि लुकाउनका लागि गोहीको प्रयोग गर्ने गरेको बताए।

प्रहरीका अनुसार शर्मा अंग प्रत्यारोपणको नाममा मानिसको किड्नी निकालेर हत्या गर्थे र त्यसपछि शव उत्तर प्रदेशको कासगञ्जस्थित हजारा नहरमा फ्याल्थे। उक्त नहर गोहीले भरिएको क्षेत्र हो। जसमा फ्यालिएका शवलाई गोहीले खाएर नष्ट गरिदिने विश्वासमा उनी यस्तो कार्य गर्थे। यसरी उनले प्रमाण मेटाउने रणनीति बनाएका थिए।

हजारा नहर कासगञ्ज जिल्लाको एक ठूलो भूभाग हुँदै बग्ने नहर हो र यो आसपासको कांशीराम कलोनी तथा ग्रामीण क्षेत्रहरूमा समेत फैलिएको छ। पछिल्लो समय नहरबाट गोही बस्ती क्षेत्रमा पुग्न थालेपछि स्थानीयमा भयको वातावरण छ। केही दिनअघि मात्र एक गोही कांशीराम कलोनीमा देखिएपछि स्थानीयले रातभर जाग्राम बसेका थिए।

प्रहरीका अनुसार यस नहरमा बेलाबेला अज्ञात शवहरू फेला पर्दै आएका छन्। अनुसन्धान अनुसार अपराधीहरूले आपराधिक गतिविधिपछि प्रमाण नष्ट गर्न शव यस्तै स्थानमा फाल्ने गरेका छन्।

प्रहरीले देवेन्द्र शर्मालाई झुठो नाममा पुजारी बनेर आश्रममा बसिरहेको अवस्थामा पक्राउ गरेको थियो। उनी कयौं हत्या र अवैध अंग प्रत्यारोपणको अभियोगमा दोषी ठहर भइसकेका छन्। उनले यसअघि जेल सजाय भोगिरहेका थिए।

उनी गत वर्ष पैरोलमा छुटेपछि फरार भएका थिए।

प्रतिक्रिया