

महिला तथा सामाजिक समितिमा ‘फाइट’: सांसद कल्पनाले हानिन् सभापतिलाई माइकको ‘झटारो’

काठमाडौं- महिलाको हित र अधिकार संरक्षणका लागि गठन गरिएको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिमा बुधवार एउटा घटना घटेको छ। नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारी र एमाले सांसद एवं समितिका सभापति किरणकुमार साहबीचको विवाद शारीरिक झडपको नजिक पुगेकाे छ।
बैठकमा ढिलोगरी पुगेकी सांसद कुसारीले अनुमति नलिइकन बोलेपछि सभापति साहले रोक्न खोजे। तर त्यसपछि स्थिति बिग्रँदै गयो। कुसारीले सभापतिमाथि माइक र नेमप्लेट प्रहार गर्न खोजिन् तर लागेन।
यो घटनालाई सामान्य भनाभनको रूपमा चित्रण गरिए पनि सांसद कुसारीले भने सभापतिमाथि गम्भीर आरोप लगाएकी छन्। सभापतिले छोरालाई सचिव बनाएर अनुगमनमा लैजानु, आफू संयोजक बनेर अनुगमनको नाममा अनियमितता गर्नु र समितिमा सत्ताको मनपरी चलाएकाे उनकाे आरोप छ।
यता सभापति साहले भने कुसारीको व्यवहार अनुशासनविपरीत रहेको र समयमा नआईकन बैठक अवरुद्ध गर्नु र आक्रोश देखाउनु संसदीय मर्यादाको उल्लङ्घन भएको बताए।

