

काठमाडौंमा हुन्डी कारोबारमा संलग्न युवक २० लाखभन्दा बढी नगदसहित पक्राउ

काठमाडौं — काठमाडौं प्रहरीले हुन्डी कारोबारमा संलग्न एक युवकलाई २० लाखभन्दा बढी नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोकको बाहबिसे नगरपालिका–४ पलाती घर भई हाल काठमाडौं महानगरपालिका–३२ पेप्सीकोला बसोबास गर्ने २४ वर्षीय संजय बस्नेत रहेका छन्।
प्रहरीका अनुसार जेठ ४ गते दिउँसो १:४५ बजे जुद्ध सालिक क्षेत्रबाट विशेष सूचनाको आधारमा बस्नेतलाई पक्राउ गरिएको हो। पक्राउका क्रममा प्रहरीले उनको साथबाट २० लाख २९ हजार ६२० नगद बरामद गरेको छ।
साथै, उनको साथबाट एउटा आइफोन र विभिन्न बैंकका हस्ताक्षर गरिएका तर खाली ३० वटा चेक पनि बरामद गरिएको छ। प्रहरीले संजय बस्नेतलाई नियन्त्रणमा लिएर हुन्डी कारोबारमा संलग्नताको आशंकामा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपील राज बोहराका अनुसार संजय बस्नेतमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ भने हुन्डी कारोबारको सञ्जालबारे विस्तृत अनुसन्धान भइरहेको छ।

