पारासिटामोल र जीवनजल खरिदका लागि पत्राचार, प्रक्रिया सुरु


काठमाडौं— नेपाल औषधि लिमिटेडले उत्पादन गरेका औषधि बिक्री नहुँदाको गुनासोपछि स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँगको छलफलपछि विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि आवश्यक पारासिटामोल र जीवनजल खरिद प्रक्रिया अघि बढाउन पत्राचार गरेको हो।

महाशाखा प्रमुख डा. पवनजंग रायमाझीका अनुसार मन्त्री पौडेलको प्रतिबद्धता पछि प्रक्रिया सुरु गरिएको हो। “नियमअनुसार खरिद सम्झौता प्रक्रिया अघि बढ्नेछ,” उनले बताए।

मंगलबार मन्त्री पौडेलको सक्रियतामा स्वास्थ्य मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल औषधि लिमिटेडका अधिकारीहरूबीच छलफल भएको थियो। उक्त छलफलमा आवश्यक औषधि खरिद गर्न सरकार सकारात्मक रहेको र तीनवटै तहका स्वास्थ्य संस्थासम्म औषधि पुगोस् भन्ने लक्ष्य लिइएको मन्त्री पौडेलले बताए।

औषधि बिक्रीमा देखिएको समस्या समाधान गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा स्वास्थ्य, अर्थ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि र लिमिटेडका अधिकारीहरू सहभागी हुने समस्या समाधान समिति गठन गर्ने समझदारी पनि भएको छ।

प्रतिक्रिया