

यौनधन्दामा लगाएको अभियोगमा कास्कीमा तीनजना पक्राउ

कास्की- कास्की जिल्ला प्रहरी कार्यालयले महिलाहरूलाई अवैध रूपमा यौन क्रियाकलापमा संलग्न गराएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतका अनुसार सोमबार साँझ पोखरा महानगरपालिका–८ स्थित सृजनाचोकमा रहेको मनिका रेस्टुराँमा यौनजन्य क्रियाकलाप भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो।
प्रहरी टोलीले घटनास्थलबाट पाँच जना महिलालाई उद्धार गरी सेफ हाउसमा पठाएको छ। साथै, रेस्टुराँ सञ्चालकसहित तीन जनालाई पक्राउ गरिएको हो। पक्राउ परेकाहरूमा मकवानपुरको बकैया गाउँपालिका–४ का ४० वर्षीय पदम लुङ्बा, पोखरा–५ मालेपाटनका ५१ वर्षीय तेजनारायण तिमिल्सिना र तनहुँको व्यास–५ का २१ वर्षीय सलन गुरुङ रहेका छन्।
कास्की जिल्ला अदालतबाट उनीहरूलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान जारी छ।

