

‘सगरमाथा संवाद’मा १७५ विदेशी पाहुना सहभागी हुने, तयारी अन्तिम चरणमा

काठमाडौं– नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको दोस्रो ‘सगरमाथा संवाद’मा १७५ विदेशी पाहुना सहभागी हुने भएका छन्। परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिकी संयोजक डा. आरजु राणा देउवाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइन्।
उनका अनुसार कार्यक्रममा करिब ३५० सहभागी रहनेछन्, जसमा विदेशी पाहुनासँगै नेपाली सहभागीको संख्यालगायत १२ वटा विषयमा गहन छलफल हुनेछ। “संवादमा १२ देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी हुनेछन्,” डा. राणाले भनिन्।
‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मूल विषयमा केन्द्रित यस संवादलाई नेपालले स्थापना गरेको एक अन्तर्राष्ट्रिय मञ्चको रूपमा लिइएको छ। जलवायु परिवर्तनलगायत मानव समाजका विविध समस्या र समाधानको बाटो खोज्ने उद्देश्यले सगरमाथा संवाद आयोजना हुँदै आएको हो।
संवादको तयारी अन्तिम चरणमा पुगेको बताउँदै मन्त्री राणाले हालसम्म १० वटा पूर्वसंवाद सम्पन्न भइसकेको जानकारी दिइन्।
उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् भने मन्त्री राणाले स्वागत मन्तव्य दिनेछिन्। भारत, चीन, अजरबैजान लगायतका देशका विशिष्ट अतिथिहरूको सहभागिता रहनेछ। कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु प्रतिनिधिले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
त्यस्तै, संयुक्त राष्ट्रसंघका महासचिवको सन्देशसमेत श्रव्यदृश्य सामग्रीमार्फत प्रस्तुत गरिनेछ।
संवादमा सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंकजस्ता अन्तर्राष्ट्रिय विकास साझेदार संस्था, विश्वविद्यालय, अनुसन्धान केन्द्र, नागरिक समाज र गैरसरकारी संस्थासमेत गरी ६१ स्वदेशी तथा विदेशी संस्था सहभागी हुनेछन्।
नेपाललाई तटस्थ र संवादमुखी कूटनीतिक नेतृत्वमा स्थापित गर्ने लक्ष्यसहित आयोजना गरिँदै गरेको यो संवादले विश्वव्यापी मुद्दाहरूमा नेपालको भूमिका र प्रतिबद्धता उजागर गर्ने विश्वास गरिएको मन्त्री राणाले बताइन्। उनले राष्ट्रिय आत्मविश्वास अभिवृद्धिसँगै नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ हुने अपेक्षा पनि व्यक्त गरिन्।

