

नेपालमा पहिलो पटक फ्याट र चिनी मिश्रित डेरी ह्वाइटनरको बिक्री

काठमाडौं – नेपालमा पहिलो पटक फ्याट र चिनी मिश्रित डेरी ह्वाइटनरको बिक्री सुरु भएको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले फ्याट र चिनी मिश्रित इन्स्ट्यान्ट डेरी ह्वाइटनरको व्यवसायिक बिक्री सुरु गरेको हो ।
संस्थानको प्रधान कार्यालय लैनचौर र न्यूरोडबाट ह्वाइनटरको बिक्री सुरु भएको संस्थानका योजना तथा बजार व्यवस्था विभाग प्रमुख सञ्जिव झाले बताए । आठ सय र चार सय ग्रामको दुई थरी प्याकेजिङमा बजार पठाइएको उक्त प्रकारको दूधमा १८ प्रतिशत चिनी र २० प्रतिशत मिल्क फ्याट हुने उनले बताए ।
‘तातोपानीमै घोलेर चिया, कफी, मिल्क वेभरेज, सेरिअल्स, खिर, दही तथा मिठाइ बनाउन यो प्रडक्ट महत्वपूर्ण छ,’ झाले भने । आठ सय ग्रामको प्याकेजिङका लागि बजार मूल्य सात सय ८० रुपैयाँ र ४ सय ग्रामको मूल्य तीन सय ९५ रुपैयाँ तोकिएको संस्थानले जनाएको छ । बिस्तारै यस्ता उत्पादनहरुको बिक्री देशैभरको केन्द्रबाट सुरु गरिने योजना संस्थानको छ ।

