

गभर्नर नियुक्तिमा ढिलाइ राजनीतिक कारणले होइन, राष्ट्र बैंकभित्रकै समस्या : देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ हुनुको कारण राजनीतिक नभई राष्ट्र बैंकभित्रकै समस्या रहेको स्पष्ट पारेका छन्।
मंगलबार पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर चयन प्रक्रियामा कुनै अवरोध नगरेको बताए।
“गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन,” देउवाले भने, “ओलीजी पनि सकारात्मक हुनुहुन्छ, राष्ट्र बैंकभित्रकै समस्या हो।”
उनका अनुसार गभर्नर नियुक्तिको जिम्मा प्रधानमन्त्री ओलीले कांग्रेसलाई दिएका छन् र उक्त विषयमा ओलीले सहयोग गरिरहेको बताए।
कार्यक्रममा देउवाले गठबन्धन सरकारलाई अर्थतन्त्र सुधारमा थप जिम्मेवार हुनुपर्नेमा जोड दिए। “देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ। अबको बजेट व्यवहारिक र कार्यान्वयन योग्य हुनुपर्छ,” उनले भने।
फरक प्रसङ्गमा देउवाले नेपालले भारतभन्दा पहिला नै उदारीकरणको नीति लिएको दाबी गर्दै माओवादी केन्द्र र एमाले पनि अहिले सोही नीतिमा रहेको बताए। “सरकारले व्यापार र उद्योग गर्ने होइन,” उनले भने, “सबै पार्टीहरू उदारीकरणको पक्षमा छन्।”

