

जुम्लाको गुठिचौर–१ मा तीन महिनादेखि अन्धकार, ४८० घरधुरी विद्युतविहीन

जुम्ला – गुठिचौर गाउँपालिका–१ का ४८० घरधुरी तीन महिनादेखि विद्युतविहीन अवस्थामा अन्धकारमा बस्न बाध्य भएका छन्।
नापानी, गढिगाउँ, मणि साँघु, डिल्ली कोट र मणि गाउँका बासिन्दालाई विद्युतीय समस्याले पिरोलेको हो। अदालीखोला लघु जलविद्युत आयोजनाको ५५ किलोवाट क्षमताको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि फागुनदेखि विद्युत आपूर्ति ठप्प भएको स्थानीय परेक ऐडीले जानकारी दिए।
विद्युत अभावका कारण दैनिक जीवन प्रभावित भएको छ। मोबाइल चार्ज गर्न, बालबालिकाको पढाइ, कुटानी–पिसानीका काम तथा स्थानीय फर्निचर उद्योग सञ्चालनमा कठिनाइ भएको अर्का स्थानीय गणेश ऐडीले बताए। अधिकांश घरधुरी टुकी र झरोको भरमा रात बिताइरहेका छन् भने केहीले सोलार प्रयोग गरेर मोबाइल चार्ज गरिरहेका छन्।
आयोजनाका अध्यक्ष जितेन्द्र लामाका अनुसार, आर्थिक अभावका कारण जेनरेटर र ट्रान्समिटर मर्मत सम्भव भएको छैन। २०७५ सालमा निर्माण भएको यो आयोजनाको मर्मतका लागि कम्तीमा ७ देखि १२ लाख रुपैयाँ आवश्यक पर्ने उनले बताए।
आयोजनाका सचिव काली प्रसादले बत्तीको महसुलबाट संकलित रकम कर्मचारीको तलबमा खर्च भइरहेको जानकारी दिए।
वडाध्यक्ष अर्जुनकुमार महताराले स्थानीय सरकारले मर्मतका लागि ३ लाख रुपैयाँ विनियोजन गरेको र हालसम्म २.५ लाख रुपैयाँ खर्च भइसकेको बताए। उनले भने, “नहर मर्मतका लागि १२ लाख बजेट व्यवस्था गरिएको छ तर जलविद्युत मर्मतका लागि प्रारम्भिकरूपमा प्रस्ताव गरिएको ७ लाख बजेट घटाएर ३ लाखमा सीमित गरिएको हो।”
स्थानीय बासिन्दाले विद्युत सेवा शीघ्र पुनःस्थापनाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

