हेटौंडामा सडकले निल्यो गाडी, ३ दिनसम्म नभेटिएपछि भूगर्भविदलाई गुहारियो


हेटौंडा, मकवानपुर – हेटौंडाको गैरीगाउँस्थित सडक जमिनसँगै एक्कासी भासिएर गाडी गायब भएको घटनाले भूगर्भीय समस्या उजागर गरिदिएको छ। तीन दिनसम्म खोजी गर्दा पनि गाडी नपाएपछि वैज्ञानिक अध्ययनको बाटो अख्तियार गरिएको छ।

शुक्रबार दिउँसो १ बजे ना ४ ख ४८३३ नम्बरको बोलेरो गाडी गहिरो दलदलजस्तो बनेको सडकको खोल्सोमा पसेर हरायो। गाडीका चालक र सहचालक भने भागेर ज्यान जोगाउन सफल भए। प्रत्यक्षदर्शीहरूका अनुसार भासिएको केही सेकेन्डमै गाडी पूर्ण रूपमा हराइसकेको थियो।

घटना भएको क्षेत्र आसपास पहिले पनि गोरू हराएको, दलदल जस्तो जमिन रहेको, माछा पोखरी, र बोरिङको जालो रहेको स्थानीयहरू बताउँछन्। यो क्षेत्र भूगर्भीय हिसाबले कमजोर रहेको र लगातार माटोको सन्तुलन बिथोलिँदै गएको आशंका गरिएको छ।

अब भूगर्भविदको औपचारिक सहयोगमा वैज्ञानिक परीक्षण गरिने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाका अनुसार भूगर्भ विभागलाई पत्राचार गरिसकिएको छ। उपकरणसहित प्राविधिक टोली छिट्टै अध्ययनका लागि आउँने अपेक्षा गरिएको छ।

गाडी खोज्न प्रयोग गरिएको जेसिबीले थप क्षति हुनसक्ने भन्दै हाल खोजी स्थगित गरिएको छ। यतिबेला सडकको त्यो क्षेत्र ‘प्रवेश निषेध’ घोषणा गर्दै साइनबोर्ड राखेर आवागमन पूर्ण रूपमा रोकिएको छ।

 

प्रतिक्रिया