यात्रु बोकेर परिवारको भविष्य खोज्नेहरू…


वीरगञ्ज- वीरगञ्ज महानगर–१५, भिस्वाका वीरेन्द्र महतोलाई दुई दशकअघिसम्म वीरगञ्ज बजारमा रिक्सामा सवार गर्ने यात्रुको खासै प्रतीक्षा गर्नुपर्दैन्थ्यो । चोक–चोकमा भेट्टिने यात्रुलाई आफ्नो गन्तव्यमा पुर्‍याउन भ्याइनभ्याइ हुन्थ्यो । त्यही कर्मबाट आफ्ना पाँच सन्तानलाई राम्रैसँग पढाइलेखाइ पनि गराउँदै आइरहेका थिए ।

तर, विगत पाँच वर्षयता भने उनीजस्तै वीरगञ्जमा भाडाको रिक्सा चलाउनेको अवस्था भने निकै दयनीय बन्दै आइरहेको छ । अहिले ४७ वर्षे महतोलाई वीरगञ्ज आसपासमा रिक्सामा सवार गर्ने यात्रु भेट्टाउन पनि मुस्किल पर्ने गरेको छ । ‘२० सालअघिसम्म त रिक्सामा सवार गर्ने यात्रुलाई गन्तव्यमा पुर्‍याउन भ्याइनभ्याइ हुने गर्थ्यो । त्यतिबेला पनि आम्दानी पनि राम्रै हुन्थ्यो,’ उनले भने, ‘अचेल त चोक–चोकमा छ्यापछयाप्ती भेट्टिने अटो रिक्साका कारण हामीजस्ता भाडाका रिक्साचालकको काम खोसिएको छ । अचेल त दिनको ७०० कमाउन पनि मुस्किल पर्ने अवस्था आइसकेको छ ।’

तीन छोरी र दुई छोराका पिता महतोले रिक्सा चलाएर नै आफ्नो परिवारको गुजारा चलाउन हम्मेहम्मे परेको गुनासो पोखे । ‘अहिले महँगीले आकाशै छुम्लाजस्तो गरिसक्यो । बिहान ०३ बजेदेखि बेलुका ८ बजेसम्म घोटिँदा पनि मुस्किले ७०० कमाउन धौधौ भइसकेको छ,’ उनले भने, ‘त्यो सात सयमा पनि २०० त रिक्साको साहुलाई भाडा तिर्नुपर्ने अर्को बाध्यता छ ।’

यहाँका अधिकांश रिक्साचालकको आफ्नै रिक्सासमेत छैन । अधिकांश रिक्साचालकले दैनिक औसतमा १५० देखि २०० भाडा तिरेर साहुको रिक्सा चलाएर आफ्नो गुजारा चलाउँदै आइरहेका छन् ।

‘रिक्साको भन्दा अटो रिक्साको भाडा धेरै सस्तो र छिटो गन्तव्यमा पुगिने लोभले सर्वसाधारण रिक्सामा चढ्न खासै रुचि देखाउँदैनन्,’ रिक्साचालक महतोले भने, ‘मेसिनबाट चल्ने अटो रिक्सा र हाम्रो रगत पसिनाबाट चल्ने रिक्साको रेट एउटै त कहाँ राख्न सकिन्छ र ?’

वीरगञ्जको घण्टाघर चोकदेखि बसपार्कसम्म अटो रिक्सामा १०० रुपैयाँमा नै यात्रा गर्न सकिन्छ भने रिक्सामा भने कम्तीमा पनि ३० रुपैयाँ पर्ने भएकाले पनि सर्वसाधारणको रोजाइमा अचेल रिक्सा खासै पर्दैन । उनले अटो रिक्सा किन्न नसकेकै कारणले भाडाको रिक्सा चलाउँदै आइरहेको बताए । ‘५० हजार पर्ने रिक्सा त आफैँ किन्न सकेको छैनौँ भने कहाँ ४ लाख पर्ने अटो रिक्सा किन्ने कुरो त सपनाजस्तै हो,’ चालक महतोले भने ।

व्यापारिक शहर वीरगञ्ज बजारमा पहिलाजस्तो रिक्सा गुड्न पनि कमी आएको छ । अहिले वीरगञ्जमा २०० भन्दा धेरै रिक्साचालक रहेका छन् । वीरगञ्जकै घण्टाघर आसपासमा रिक्सा चलाउँदै आइरहेका ४६ वर्षे वसन्त गिरी पनि रिक्सा चलाएर गुजारा चलाउन गाह्रो हुने अवस्था सिर्जना भएको बताँछन् । ‘अचेल रिक्सा सवारी गरेर पेट पाल्न पनि गाह्रो हुने अवस्था भइसकेको छ,’ उनले भने, ‘रिक्सा चलाउनेबाहेक अन्य कुनै सीप छैन । तर, यस्तै अवस्था रहिरहने हो भने त एक दिन नचाहेर पनि विस्थापित हुनुपर्ला कि !’

वीरगञ्जमा नेपाली नागरिक मात्रै नभएर भारतीय नागरिक पनि रिक्सा चलाउँदै आइरहेका छन् । भारतको बिहार राज्यअन्तर्गतको बेतिया जिल्लाका ६० वर्षे सुरेश रामको अनुभवमा पनि पछिल्लो समय रिक्सा चढ्ने यात्रु घटेका छन् । ‘मेरो त जिन्दगी नै रिक्सा चलाएर बित्यो भन्दा पनि हुन्छ,’ उनले भने, ‘वीरगञ्जमै रिक्सा चलाएको पनि ४५ वर्ष बितिसक्यो । तर, अचेल रिक्सा चढ्ने यात्रु भने घटेको घट्यै छन् । यस्तै अवस्था रह्यो भने त घर फर्किनुपर्ला भन्ने लागिरहेको छ ।’

उनले भने, ‘बेटरीवाला अटो रिक्साले हाम्रो काम जति सबै खोसेका छन् । कसरी टिक्नु खोइ !’ रिक्साचालक रामको अनुभवमा अटो रिक्सा नपाएको बेला र अत्यावश्यक परेको खण्डमा मात्रै यात्रु रिक्सा चढ्ने गर्छन् । ‘छोटो रुट, अटो रिक्सा नगुड्ने ठाउँमा मात्रै यात्रुको रोजाइमा रिक्सा पर्ने गर्छ,’ उनले भने, ‘पहिले त रिक्सा चढ्न हानाथाप हुने गर्थ्यो । अचेल त पुराना बुढापाका मात्रै चढ्ने गर्छन् ।’

पछिल्लो समय वीरगञ्जमा रिक्सा र टाँगा हराउँदै पनि गइरहेका छन् । वीरगञ्जआसपासमा टाँगा र रिक्सा न्यून संख्यामा मात्रै सडकमा देखिन्छन् । पछिल्लो समय युवापुस्ता भने इलेक्ट्रिक तथा पेट्रोलियम पदार्थबाट चल्ने अटो रिक्सा चलाउनेतर्फ आकर्षित भइरहेका छन्, वैदेशिक रोजगारीबाट फर्किएका युवा भने धमाधम अटो रिक्सा (टेप्पो) तर्फ आकर्षित भइरहेका छन् ।

वीरगञ्ज महानगर– १५, नगवा मोहम्मद सविरु पनि वैदेशिक रोजगारीका लागि तीन वर्ष युनाइटेड अरब इमिरेट्स गए । तर, खासै रमाउन नसकेपछि एक वर्षदेखि वीरगञ्ज बजारमा भाडाको अटो रिक्सा चलाउँदै आइरहेका छन् । ‘अरबको खाडी शहर दुबईभन्दा त आफ्नो घरआँगनमा अटो रिक्सा गुडाउँदा झनै रमाइलो लाग्ने रै’छ,’ उनले विगत स्मरण गर्दै भने, ‘दुबईमा भन्दा यहाँ आठ–दश हजार आम्दानी कम होला तर, परिवारका साथै बसेर काम गर्दा छुट्टै आनन्द महसुस हुने गरेको छ ।’

सबिरुले दैनिक ७०० भाडा तिरेर भाडाको अटो रिक्सा गुडाउँदै आइरहेको बताए । ‘पहिला–पहिला रिक्सा चढ्ने खुवै भेट्टिन्थे,’ उनले भने, ‘अचेल छिटो र सस्तो अटो रिक्सा हुने भएकाले सबैको रोजाइमा त्यही पर्ने गर्छ ।’

उनले अटो रिक्सा चलाएर दैनिक औसतमा २ हजारसम्म आम्दानी गर्न सकिने बताए । ‘अहिले अटो रिक्सा चलाएर परिवारलाई खुसीपूर्वक पालनपोषण गर्दै आइरहेको छु,’ उनले भने । वीरगञ्जमा १० वर्षदेखि इलेक्ट्रिक रिक्सा चलाउँदै आएकी निशाचन्द्र ठकुरी पनि इरिक्साको पनि आम्दानी पनि घटेको अनुभव सुनाउँछिन् ।

‘यहाँ अहिले पाइला–पाइला अटो रिक्सा र ई–रिक्सा पाइने भएकाले पनि कमाई घट्दै गइरहेको छ,’ उनले भनिन्, ‘अहिले त दैनिक रु एक हजार ५०० आम्दानी गर्न पनि मुस्किल भइरहेको छ ।’

उनले भनिन्, ‘टेप्पो र अटो रिक्साचालकको हानाथापको कारणले पनि कुनै बेला त रित्तै पनि गुडाउनुपर्ने बाध्यता आइसकेको छ ।’ ठकुरी वीरगञ्जमा पहिलो महिला ई–रिक्साचालकको रूपमा परिचित छिन् । उनले ई–रिक्सा चलाउन थाल्दा वीरगञ्जमा १० वटा मात्रै ई–रिक्सा गुड्ने गरेको दाबी गरिन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट वीरगञ्ज बजार क्षेत्रमा अत्यधिक मात्रामा अटो रिक्सा चल्ने भएकाले पनि ट्राफिक जाम हुने गरेको बताउँछन् । ‘वीरगञ्ज बजार क्षेत्रमा यात्रु ओसार्ने सवारीसाधन भनेकै अटो रिक्सा हो । स–साना सवारीका कारणले पनि पिकआवरमा ट्राफिक व्यवस्थापनमा पनि समस्या थपिँदै आइरहेको छ ।’ वीरगञ्ज बजार क्षेत्रमा अटो रिक्सा, रिक्सा, टाँगा र दुईपाङ्ग्रे सवारीसाधन अत्यधिक मात्रामा गुड्ने गर्छन् । यसका कारणले पनि पछिल्लो समय यहाँका सडक अटो रिक्सा र ससाना सवारीसाधनले भरिभराउ हुने गरेका छन् ।

वीरगञ्ज महानगरआसपासमा चल्ने अटो रिक्साको यकिन तथ्यांक भने छैन । यद्यपि यहाँका सरोकारवाला निकायले भने करिब ४ हजारको हाराहारीमा गुड्ने अनुमान गर्छन् । वीरगञ्ज महानगर सडक तथा यातायात शाखा प्रमुख विजय गुप्ताले महानगरमा ७५० को हाराहारीमा अटो रिक्सा दर्ता भएको बताए । ‘पर्साका १४ वटै पालिकाबाट वीरगञ्जमा अटो रिक्सा चल्ने भएकाले पनि संख्या यकिन गर्न र व्यवस्थापनमा पनि चुनौती थपिँदै आइरहेको छ,’ उनले भने, ‘जनशक्तिको अभावका कारणले पनि अटो रिक्सा तथा टेप्पोलाई व्यवस्थित गर्न समस्या भइरहेको छ ।’

प्रतिक्रिया