

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने, भ्रामक सूचनाप्रति सचेत रहन आग्रह

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षासम्बन्धी भ्रामक सूचना सामाजिक सञ्जालमा फैलिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डको लोगो प्रयोग गरी अनाधिकृत रूपमा भ्रम फैलाइएकाले सचेत रहन विद्यार्थी, अभिभावक र सरोकारवालालाई आग्रह गरिएको छ।
बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै परीक्षा यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म तोकिएको समयमै सञ्चालन हुने स्पष्ट पारेको छ। परीक्षा सञ्चालनका लागि आवश्यक सबै तयारीसम्बन्धी पत्राचार सम्बन्धित निकायहरूलाई गरिसकिएको बोर्डले जनाएको छ।
परीक्षा मर्यादित, व्यवस्थित र शान्तिपूर्ण ढंगले सञ्चालन गर्न बाँकी तयारी पूरा गर्न बोर्डले सम्बन्धित निकायहरूलाई आग्रहसमेत गरेको छ।
यसअघि वैशाख ११ गतेदेखि परीक्षा सुरु हुने भनिए पनि देशभरका शिक्षकहरूको आन्दोलनका कारण मिति सारिएको थियो। अहिले भने सरकार र शिक्षकबीच ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको छ, जसले परीक्षा निर्धारित मितिमा सञ्चालन हुने सुनिश्चित भएको छ।
कक्षा १२ का परीक्षार्थीलाई बोर्डले आधिकारिक सूचना बाहेकका हल्लामा नफस्न अनुरोध गरेको छ।

