

कुखुरा आँगन पस्दा विवाद, छोराको गोली प्रहारबाट बाबु घाइते

हेटौँडा — मकवानपुरको भीमफेदी गाउँपालिका–९, अघोरमा छोराको भरुवा बन्दुक प्रहारबाट बाबु घाइते भएका छन्। घरेलु विवादका क्रममा बुधबार बिहान ३५ वर्षीय इमानसिंह थिङले ५९ वर्षीय बाबु कान्छाराम थिङलाई प्रहार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कुखुरा आँगनमा पसेको विषयमा विवाद उत्पन्न भएपछि घटनाले उग्ररुप लिएको हो। बाबु–छोरा छुट्टाछुट्टै घरमा एउटै आँगनमा बस्दै आएका थिए।
प्रहारबाट बाबुको बायाँ तिघ्रा र दायाँ हातमा छर्रा लागी सामान्य घाइते भएका छन्। हाल हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि प्रहरीले इमानसिंहलाई लाइसेन्स नभएको भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको छ। थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सन्तबहादुर श्रेष्ठको नेतृत्वमा टोली खटिएको प्रहरीले जनाएको छ।

