किन पक्राउ परे रेशम चौधरी ?


काठमाडौं— नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी बुधबार काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनबाट पक्राउ परेका छन्। जनमत पार्टीसँगको एकता घोषणा कार्यक्रम सुरु हुनु ठीक अघि सादा पोशाकमा रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिई डिल्लीबजार कारागार पुर्‍याएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले चौधरीलाई सर्वोच्च अदालतको आदेश अनुसार बाँकी कैद भुक्तान गर्न पक्राउ गरिएको जानकारी दिएका छन्। “पहिलेको मुद्दामा कैद पूरा हुन बाँकी भएकाले उनलाई पक्राउ गरिएको हो,” उनले स्पष्ट पारे।

चौधरी टीकापुर घटनाका प्रमुख आरोपी हुन्। उनलाई २०७२ सालमा भएको घटनापछि जन्मकैदको सजाय सुनाइएको थियो। तर २०८० साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिको निर्णयबाट उनी कैदमुक्त भएका थिए। सो निर्णयविरुद्ध सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

प्रज्ञा भवनमा आजै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा गर्न कार्यक्रम तय गरिएको थियो। दुबै दलका शीर्ष नेता र कार्यकर्ताहरू उपस्थित रहे पनि चौधरी पक्राउपछि कार्यक्रम अन्यौलमा परेको छ।

प्रतिक्रिया