

अछाममा हँसियाले घाँटी रेटेर आत्महत्या प्रयास गर्ने व्यक्तिको मृत्यु

अछाम – अछामको बान्निगढी–जयगढ गाउँपालिका–३ जाल्तोलाका ४० वर्षीय गणेश लुहारले हँसियाले आफ्नै घाँटी रेटेर आत्महत्या प्रयास गरेका छन्। गम्भीर घाइते अवस्थामै अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
प्रहरीका अनुसार, मंगलवार दिउँसो आफ्नै घरको आँगनमा उनले हँसियाले घाँटी काटेका थिए। तत्कालै घाइते अवस्थामा भेटिएका लुहारलाई उपचारका लागि पहिलो चरणमा बयलपाटा स्थित न्याय हेल्थ अस्पताल लगिएको थियो।
तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढी ल्याउँदै गर्दा डोटीको गैरा क्षेत्रमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।

