

सुपा देउराली मन्दिर दर्शन गएका युवक मृत भेटिए

अर्घाखाँची — सुपा देउराली मन्दिर दर्शनका लागि गएका एक युवक सन्धिखर्कमा मृत अवस्थामा फेला परेका छन्।
सन्धिखर्क नगरपालिका–७ स्थित सुपा देउराली मन्दिर नजिकै रहेको झोलुङ्गे पुलको छेउमा कपिलवस्तु बुद्धभूमि नगरपालिका–९ निवासी २० वर्षीय अनिल बादीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
बादी यही वैशाख १४ गते बिहान मन्दिर दर्शनका लागि गएका थिए। तर त्यसयता परिवारसँग सम्पर्कविहीन भएपछि उनका आफन्तहरूले प्रहरीमा जानकारी गराएका थिए।
प्रहरीको खोजी कार्यक्रमका क्रममा वैशाख १६ गते झोलुङ्गे पुल नजिक उनको शव भेटिएको जिल्ला प्रहरी प्रमुख डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए।
घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा इलाका प्रहरी कार्यालय सन्धिखर्कका निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

