

ट्राफिकले सर्वसाधारण कुटेको भिडिओ भाइरल, पुरानो कि नयाँ ?

काठमाडौं- अहिले सामाजिक सञ्जालमा ट्राफिक प्रहरीद्वारा सर्वसाधारणमाथि भएको कुटपिटको भिडियो भाइरल बनेको छ ।
भिडिओमा देखिएअनुसार, चार जना ट्राफिक प्रहरीमध्ये एकजनाले व्यक्तिलाई जमिनमा लडाएर बुटले कुटपिट गरेको देखिन्छ । साथमा रहेका अन्य ट्राफिकहरू भने पासपोर्टजस्तै देखिने कागजात भुईँमा फालेर हिंडेको दृश्य पनि समावेश छ । भिडिओमा देखिएको बसमा “कीर्तिपुर यातायात” लेखिएको छ, र वरिपरि मोटरसाइकलको बाक्लो भिड देखिएकाले यो दृश्य काठमाडौं उपत्यकाकै हुनसक्ने अनुमान गरिएको छ ।
तर, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले भिडिओ पुरानो हुनसक्ने र जाडोयामको भएको शंका गरिएको बताएका छन् । “प्रहरीले जाडोमा लगाउने ज्याकेट भिडिओमा देखिएको छ, तर कुटपिट गर्ने स्थान र संलग्न प्रहरीको यकिन पहिचान भइनसकेको अवस्था छ,” उनले भने ।
यस्तै, रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी बिनोद घिमिरेले पनि घटनास्थल र संलग्न प्रहरीको पहिचान अझै नभएको स्वीकार गर्दै भने, “सामान्य रूपमा हेर्दा काठमाडौंकै जस्तो देखिए पनि पुष्टि भएको छैन । यद्यपि अनुसन्धान तीव्र पारिएको छ ।”

