प्रदेशहरूमा एमालेका २४ सह–इञ्चार्ज फेरिए, कसले पाए जिम्मेवारी? 


काठमाडौं– नेकपा एमालेले ६ प्रदेशमा २४ सह–इञ्चार्ज फेरेको छ। माओवादी केन्द्रबाट आएका नेताहरूलाई समेटेर जिम्मेवारी दिइएको छ।

अध्यक्ष केपी शर्मा ओलीको अन्तरपार्टी निर्देशनमा ६ जनासम्म सह–इञ्चार्ज राख्ने अनुमति थियो। १३ चैतमा ओलीले यस्तो निर्देशन दिएका थिए।

प्रदेश १ मा इञ्चार्ज सुवास नेम्वाङले लालबाबु पण्डित, भानुभक्त ढकाल, शेरधन राई, गुरु बराल, टंक आङबोहाङ र राजेन्द्र गौतमलाई सह–इञ्चार्जको जिम्मेवारी दिएका छन् ।

प्रदेश २ मा सह–इञ्चार्ज राखिएको छैन। उक्त प्रदेशमा सत्यनारायण मण्डल इञ्चार्ज छन्।

बागमती प्रदेशमा रामबहादुर थापा बादलले काशीनाथ अधिकारी, शेरबहादुर तामाङ र उपत्यकाको विशेष जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई सह–इञ्चार्ज बनाएका छन्। बादललाई बागमती इञ्चार्जको जिम्मेवारी दिइएको थियो।

गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले किरण गुरुङ, पद्मा आर्याल र लिलाबहादुर थापालाई सह–इञ्चार्जको जिम्मेवारी दिएको जनाइएको छ।

लुम्बिनीमा इञ्चार्ज शंकर पोखरेलले मणिचन्द्र थापा, दलबहादुर राना, बैजनाथ चौधरी र गिरीधारीलाल न्यौपानेलाई सह–इञ्चार्जको जिम्मेवारी दिएका छन्।

कर्णाली प्रदेशमा यामलाल कँडेलले लक्ष्मी पोखरेल र गुलावजंग शाहलाई सह–इञ्चार्जको जिम्मेवारी दिए।

सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले नारदमुनी राना र गणेश ठगुन्नालाई सह–इञ्चार्जको जिम्मेवारी दिएका हुन्।

प्रतिक्रिया