कालोपट्टीसहित विरोधमा उत्रिए स्थानीय तहका कर्मचारी


काठमाडौं- संघीय निजामती सेवा विधेयकमाथि संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेका बेला स्थानीय तहका कर्मचारी आन्दोलित बनेका छन् ।

स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालका संयोजक दिपक गौतमका अनुसार, सरकारसँग भएको अघिल्लो सम्झौता कार्यान्वयनको माग गर्दै कर्मचारीहरूले आज कार्यकक्षमै कालोपट्टी बाँधेर विरोध जनाएका हुन् ।

उनीहरूले स्थानीय तहका माग र मुद्दालाई विधेयकमा समेट्नुपर्ने माग गर्दै आइतबारदेखि आन्दोलन सुरु गरेका हुन् । ७५३ वटै पालिकाका प्रमुखमार्फत समितिका सभापति, सम्बन्धित मन्त्रीहरू र मुख्य सचिवलाई ध्यानाकर्षण गराइएको छ ।

माग सुनुवाइ नभए शुक्रबार काठमाडौं केन्द्रित सडक आन्दोलन र देशभरका स्थानीय तहमा ‘पेन डाउन’ कार्यक्रम गरिने चेतावनी सञ्जालले विज्ञप्तिमार्फत दिएको छ ।

सञ्जालले संघीय निजामती सेवा विधेयक अघि बढाउँदा कर्मचारीसँग परामर्श नगरेको र उपसमितिले पनि उनीहरूको माग बेवास्ता गरेको भन्दै आपत्ति जनाएको छ ।

यसअघि सरकार र स्थानीय तहका कर्मचारीबीच स्थानीय सेवाका स्थायी कर्मचारीलाई निजामती सेवामा समेट्ने र सेवा–शर्तसम्बन्धी न्यूनतम मापदण्ड तय गर्ने सहमति भएको थियो ।

प्रतिक्रिया