

डा. मुकुल भन्छन्, ‘रवि दाइ पनि ‘पटके’ भइसके’

काठमाडौं – रास्वपाबाट हटाइएका संस्थापक महामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई ‘टोले गुण्डा’को संज्ञा दिएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै ढकालले रवि जेल आउने-जाने गरिरहने ‘पटके’ भइसकेको बताएका हुन् । उनले रविको मुद्दाको फैसला, आदेशलगायत १८-२० वटा अदालतबाट हुने र कुनै अदालतबाट रवि छुटे पनि कुनैबाट पक्राउ पनि पर्न सक्ने भन्दै रवि जेलबाट आउ-जाउ भइराखे भने अचम्म नमान्दा हुने पनि जिकिर गरे।
उनले भने, ‘रवि दाइको मुद्दाको फैसला, आदेश लगायत १८-२० वटा अदालतबाट हुन्छ। कुनै अदालतबाट यिनी छुट्न सक्छन्, कुनैबाट प्रक्राउ पनि पर्न सक्छन्। यिनी जेलबाट आउ-जाउ भइराखे भने अचम्म नमान्दा हुन्छ। तपाईंहरूको घर नजिकै, तपाईंलेहरूले देखेका गुण्डा, ठगहरू पनि हेर्नु, ती पनि जेल जाने-आउने गरिरहेका हुन्छन्। यसरी पटक पटक जेल जाने-आउने गरिरहनेलाई चलनचल्तीको भाषामा ‘पटके’ भनिन्छ। रवि दाइ पनि ‘पटके’ भइसके।’
रविको जेल आउजाउ गर्ने पटके अवस्थाले रास्वपालाई धेरै हानि हुने जिकिर ढकालको छ। उनले रविलाई नबिर्सी न रास्वपा अघि बढ्न सक्छ न त वैकल्पिक राजनीतिको अभियान नै गर्न सक्छ भन्दै रवि आउजाउ गरेर कसैलाई बिर्सन पनि दिँदैनन् र वैकल्पिक राजनीतिको समग्र अभियानलाई नै निरन्तर डिस्टर्ब गरिरहने बताए ।

