

रोल्पामा कुकुर झुण्ड्याएर मारेको आरोपमा दुई बालकसहित तीनजना पक्राउ

काठमाडौं- रोल्पा जिल्लाको लुम्री गाउँपालिका–७ हार्जाङमा कुकुरलाई झुण्ड्याएर मारेको घटनामा संलग्न भएको आरोपमा दुई बालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ११ र १८ वर्षका दिलबहादुर पुनका दुई छोराहरू छन् । उनीहरूलाई वैशाख ३ गते गाउँमा १४ जनालाई टोकेको आरोपमा कुकुरलाई यातना दिई झुण्ड्याएर मारेको भन्दै नियन्त्रणमा लिइएको हो ।
इलाका प्रहरी कार्यालय सुलिचौरका इन्स्पेक्टर अरुण लामाका अनुसार, घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो ।
यस घटनामा संलग्न अर्का एकजना, दाङको लमहीका सुन्दर परियारलाई पनि पक्राउ गरी रोल्पा ल्याइँदैछ ।
प्रहरीले उनीहरूविरुद्ध पशुपन्छी सम्बन्धी कसुर अन्तर्गत अनुसन्धान अघि बढाएको जनाएको छ ।

