

राप्रपा कार्यक्रमः म्याद नगुज्रिएको अश्रुग्याँस र प्लाष्टिककाे गोलीसहित सडकमा खटिँदै प्रहरी

काठमाडौं — राजसंस्था पुनर्बहालीको मागसहित सडक आन्दोलनमा उत्रिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारलाई निषेधित क्षेत्र तोड्ने चुनौती दिएपछि प्रहरी परिचालन व्यापक बनाइने भएको छ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार आइतबार बिहानैबाट निषेधित क्षेत्रको सुरक्षाका लागि प्रहरी तैनाथ हुँदैछन् । ‘उनीहरूले तयारी गरेको समयअघि नै हाम्रो टोली पुग्छ’, उनले भने ।
केन्द्रीय प्रहरी स्रोतका अनुसार राप्रपाको कार्यक्रमलाई दृष्टिगत गर्दै आइतबार निषेधित क्षेत्रमा उपत्यकास्थित विभिन्न गण, गुल्मबाट प्रहरी परिचालन गरिने भएको छ । उनीहरूसँग म्याद नगुज्रिएको अश्रुग्याँस, प्लाष्टिकका गोली र वाटर क्यानल रहने स्रोतले जनायो ।
चैत १५ गतेको प्रदर्शनका क्रममा राप्रपाले आफ्ना २ नेताहरुसहित पक्राउपरेका प्रदर्शनकारीको रिहाइको माग गर्दै आजको प्रदर्शन घोषणा गरेको हो ।
राप्रपाको आन्दोलनका कारण शिक्षकहरुको प्रदर्शनलाई पनि प्रभावित बनाएको छ । राप्रपाको कार्यक्रम १२ बजेदेखि हुने भएसँगै शिक्षक महासंघले आफ्नो प्रदर्शन बिहान ९ बजेदेखि १२ बजेसम्म हुने जनाएको छ ।
प्रहरीको तैनाथीसँगै उपत्यका ट्राफिक प्रहरीले ट्राफिक डाइभर्सनको योजना बनाउने भएको छ ।

