कहिलेसम्म पर्छ पानी ?


काठमाडौं– काठमाडौंसहित देशभर बिहीबारदेखि वर्षाको क्रम सुरु भएको छ ।  यो अझ केही दिन कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार अहिले देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही स्थानमा भारी वर्षाको सम्भावना पनि छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार तत्कालै वर्षा रोकिने अवस्था छैन । “आज र भोलि बिहान खुल्ने, दिउँसो र साँझपख पानी पर्ने सम्भावना छ,” उनले भनिन्, “पानी रोकिने, फेरि पर्ने क्रम जारी रहनेछ।”

बिहीबार र शुक्रबार देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । शनिबार (वैशाख ६) को तुलनामा पानीको सम्भावना केही कम भए पनि साँझपख हल्का वर्षा हुन सक्ने महाशाखाको अनुमान छ । तर, वर्षा पूर्ण रूपमा रोकिने संकेत भने देखिएको छैन ।

“शनिबारपछि पनि पानी पर्न सक्छ,” मानन्धरले भनिन्, “तर मौसमको अवस्था तत्काल ठ्याक्कै भन्न गाह्रो हुन्छ । धेरै दिनको पूर्वानुमान मिल्ने सम्भावना कम हुन्छ ।”

हाल देशमा स्थानीय वायु, पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको संयुक्त प्रभावले वर्षा भइरहेको छ। बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा पनि नेपाल भित्रिएको छ ।

जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार, अहिलेको वर्षा अस्वाभाविक होइन । “यो प्रिमनसुनकै हिस्सा हो,” उनले बताए, “शुक्रबार र शनिबार वर्षाको क्रम अझ विस्तार हुन्छ ।”

उप्रेतीका अनुसार, गण्डकी प्रदेशदेखि पश्चिमतर्फ बढी वर्षाको सम्भावना छ । पश्चिमी वायु भूमध्यसागर, अफगानिस्तान, पाकिस्तान, जम्मु–कश्मीर हुँदै नेपाल प्रवेश गरेको छ । यही प्रणालीको प्रभावले पाकिस्तानमा समेत ठूलो वर्षा भइरहेको छ ।

देशका विभिन्न स्थानमा आइतबार (वैशाख ७) सम्म वर्षा हुने सम्भावना रहन्छ । मौसम खुल्ने संकेत भने सोमबार (वैशाख ८) देखि देखिन्छ । उप्रेतीका अनुसार, वैशाख ८ गते देशका धेरै भागमा घाम लाग्नेछ ।

यस अवधिमा हावाहुरी, असिना, चट्याङ र पहाडी क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ ।

प्रतिक्रिया