शिकार खेल्न वडाध्यक्ष पनि पुगेका थिए, अवैध हतियार वडाध्यक्षकै भएकै आशंका


वडाध्यक्ष रविलाल घर्ती र घटनामा संलग्न पक्राउ परेका व्यक्तिहरु।

दाङ– दाङको घोराहीमा शिकार खेल्न गएका दुई जनामध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ। सिकार खेल्न घोराही–१३ का वडाध्यक्ष रविलाल घर्ती पनि पुगेको खुलेको छ। वडाध्यक्षहित ५ जना शिकार खेल्न गएको प्रहरीको दावी छ।

शिकार खेल्ने क्रममै घोराही उपमहानगरपालिका–१३ का ५० बर्षीय टेकबहादुर गुरुङको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो। सिकार खेल्न प्रयोग भएको हतियार अवैध रहेको र वडाध्यक्ष घर्तीकै रहेको आशंका गरिएको छ।

घोराही–१३ का एक वडा सदस्यकाअनुसार वडाध्यक्ष घर्ती चैत १२ गते नै काठमाडौं जाने भन्दै आएका थिए। उनले केन्द्र र प्रदेशमा स्थानीय योजनाको पनि बुझाउने गरी फाइल तयार गरेका थिए।

तर, वडाध्यक्ष काठमाडौं नै गएनन्। घटना १३ गतेको हो। उनी हतियारसहित स्थानीयलाई लिएर शिकार खेल्न पुगेछन् जंगलमा। मृत्यु भएका पीडित पक्षले वडाध्यक्ष घर्तीले ढिलो जानकारी दिएको भन्दै दुई दिन यता विरोध गर्दै प्रहरी अनुसन्धान त्यतातर्फ गर्न आग्रह गरेर प्रहरी कार्यालयमा धर्ना दिएका छन्।

जबकि मृत्यु हुने व्यक्ति वडाध्यक्ष घर्तीका छिमेकी हुन्। आफ्नै घर नजिकैका छिमेकीको मृत्यु हुँदासम्म अध्यक्षले जानकारी नदिएपछि धेरै आशंका जन्मिएका छन्। उनले प्रहरीलाई बोलाएर लगेपछि मात्रै मृत्युको घटना बाहिर आएको हो।

जिल्ला प्रहरी कार्यालय दाङले वडाध्यक्ष घर्तीलाइ बोलाएर घटनाबारे सोधपुछ गरेको छ। दुई दिन बोलाएर दिनभर जसो वडाध्यक्ष घर्तीलाइ सोधेको छ। वडाध्यक्ष घर्तीले आफुले घटनाको बारेमा थाहा पाएपछि प्रहरीलाई जानकारी गराएको बयान दिएका छन्।

तर, उनको बयानले थप शंका जन्माएको प्रहरीले जनाएको छ। दाङका एसपी गणेश चन्दले वडाध्यक्ष घर्तीलाइ बोलाएर सोधपुछ गरेको पुष्टि गरेका छन्। उनले शिकार खेल्ने क्रममा मानिसको मृत्यु भएकाले त्यहाँ भेटिएको अवैध हतियार कस्को भन्ने अझै नखुलेको र घटनाको अनुसन्धान जारी रहेको बताए।

प्रहरीले वडाध्यक्ष घर्तीलाई बचाउन खोजेको स्थानीयको भनाइ छ। तर, स्थानीयले वडाध्यक्षले सुरुमा आफै थाहा पाएर पनि घरको आँगन जोडिएको छिमेकीलाई थाहा नदिनुले घटना रहस्यमय भएको बताएका छन्। चन्दले सिकार खेल्ने क्रममा व्यक्तिको मृत्यु भएकाले हातहतियार खरखजना र ज्यान मार्ने उद्योग मुद्दा दर्ता भइ अनुसन्धान भइरहेको जानकारी दिए ।

एसपी चन्दका अनुसार घटना घोराही–१२को जंगल क्षेत्रमा गत शुक्रवार राति भएको हो। प्रहरीले गोली चलाउने व्यक्तिलाई पनि पहिचान गरी नियन्त्रणमा लिइसकेको एसपी चन्दले जानकारी दिए।

यसैबीच भरुवा बन्दुकको गोली लागेर मृन्यु भएका गुरुङको शव पोष्टमार्टमको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको एसपी चन्दले बताए।

घटनामा संलग्न ३ जना पक्राउ

यसैबीच भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको दाङ प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

घोराही उपमहानगरपालिका–१२ चम्पाखेल भलानेरी सृजना सामुदायिक वनस्थित जंगलमा शिकार खेल्ने क्रममा ५१ वर्षीय टेक बहादुर गुरुङको मृत्यु भएको घटनामा संलग्न दुई जनालाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको चिन्दले जानकारी दिए।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ निवासी ३५ वर्षीय मधु शर्मा र सोही ठाउँ निवासी २७ वर्षीय भिम घर्ती र सोही ठाउँकै ओम राना रहेका छन्। उनीहरुको साथबाट ४ फिट ८ इन्च लम्बाई भएको भरुवा बन्दुक एक थान बरामद गरेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्

घोराहीमा शिकार खेल्न गएका २ मध्ये एकको गोली लागेर एक मृत्यु
दाङमा भरुवा बन्दुकसहित २ जना पक्राउ

प्रतिक्रिया