

राप्रपाको बल्खु सभा: यसरी मिलाइएको छ कडा सुरक्षा व्यवस्था

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित मंगलबार काठमाडौंको बल्खुमा सभा गर्ने भएको छ । उपत्यकाभित्रका साथै बाहिरका जिल्लाबाट समेत ठूलो संख्यामा जनसहभागिता हुने राप्रपाले जनाएको छ ।
सभा र जुलुसलाई लक्षित गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोली परिचालन हुने छन् । करिब २ हजार प्रहरी बल्खु क्षेत्रमा खटिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए । सादा पोशाक र बर्दीका प्रहरीका साथै सशस्त्र प्रहरी पनि तयारी अवस्थामा रहने छन् ।
सभा स्थलको निगरानीका लागि सीसी क्यामेरा, बडी क्यामेरा र ड्रोन प्रयोग गरिनेछ । उच्छृङ्खल गतिविधिमा संलग्न हुनेहरूमाथि कारबाही गरिने प्रहरीले जनाएको छ ।
१५ चैतको तीनकुने प्रदर्शन हिंसात्मक बनेपछि यसपटक सुरक्षा रणनीति थप सतर्क बनाइएको छ । तीनकुनेजस्तो बल्खु संवेदनशील नरहेको सुरक्षा निकायको विश्लेषण छ ।

