

गुल्मीमा कुकुरले टाउको गाउँ डुलाएपछि बेपत्ता व्यक्तिबारे पत्ता लाग्याे

गुल्मी — गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ६, बेलपोखरामा एक जनाको रहस्यमय मृत्यु भएको खुलेको छ । सोमबार स्थानीय एक कुकुरले मान्छेको टाउकोको कङ्काल मुखमा च्यापेर गाउँमा डुलिरहेको देखिएको थियो ।
स्थानीय जनप्रतिनिधि सुन्दर कुँवरले उक्त दृश्य देखेपछि तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली घटनास्थल पुगेको थियो । प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले घटनाको पुष्टि गर्दै कुकुरले ल्याएको टाउको ५५ वर्षीय रतन शाहीको भएको जानकारी दिए । शाही सोही वडाका बासिन्दा हुन् र साढे दुई महिनाअघि देखि बेपत्ता थिए ।
मंगलबार प्रहरीले स्थानीयको सहयोगमा खोजी कार्य गर्दा कालिका सामुदायिक वन क्षेत्रमा शाहीका अन्य शरिरका कङ्काल र उनले लगाएका कपडा फेला पारेका छन् । कपडा र छिमेकीका प्रमाणका आधारमा मृतकको पहिचान गरिएको वडाध्यक्ष मुकेश थापाले जानकारी दिए ।
उनका अनुसार रतन शाही परिवारविहीन थिए र एक्लै बस्दै आएका थिए । घाँस काट्न गएका बेला लडेर ज्यान गएको हुन सक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घटनास्थलमा प्रहरी निरीक्षक भुपेन्द्र थापाको नेतृत्वमा ७ जनाको टोली खटिएको छ ।

