

अटो दुर्घटनामा घाइते भएका स्वास्थ्यकर्मीको मृत्यु

वीरेन्द्रनगर—अटो दुर्घटनामा परेर घाइते भएका सिनियर अहेब नरबहादुर खत्रीको उपचारको क्रममा मृत्यु भएको छ ।
११ चैतमा ४३ वर्षीय खत्री सानीभेरी—३ को बेलटापु नजिकै भएको अटो दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । शनिबार उनको भारतको लखनउमा निधन भएको हो ।
खत्री सानीभेरी गाउँपालिका–६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सिनियर अहेब पदमा कार्यरत थिए । घटना लगतै उनलाई उपचारका लागि तत्काल चौरजहारी अस्पताल हुँदै प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।
त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई नेपालगन्ज हुँदै भारतको लखनउ लिइएको थियो । उनको टाउको, गर्दन, मेरुदण्डलगायतका शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको थियो ।
सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले शनिबार बिहान उपचारको क्रममा उनको निधनको खबर आएको जानकारी दिए ।

