मोदीको भ्रमणपछि बंगलादेशमा चर्कियो हिंसा : ११ जना प्रदर्शनकारीको मृत्यु, दजनौ घाइते


काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमण गरेलगत्तै बंगलादेश हिंसा चर्किएको छ । लगातार तीन दिनदेखि भएको विरोधमा
प्रहरी र इस्लामिस्ट प्रदर्शनकारीहरूबीच आइतवार झडप भएको छ । आजको झडपमा परी १२ भन्दा बढी मानिस घाइते भएका छन् ।

शुक्रवारको झडपमा ५ जना प्रदर्शनकारकिो ज्यान गएको थियो भने शनिवार ६ जना मारिएका थिए । विभिन्न जिल्लामा भएका प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि गोली प्रहार गरेको थियो ।

विरोधकर्ताहरू कट्टरपन्थी इस्लामिस्ट समूह हेफाजत–ए–इस्लामका मानिस हुन् । बंगलादेश स्वतन्त्र भएको ५० वर्षको अवसरमा मोदी भ्रमणमा आउँदा उनीहरू रिसाएका हुन् । मोदीले आफ्नो देशमा मुसलमानहरूविरुद्ध ​साम्प्रदायिक हिंसा मच्चाएको आरोप उनीहरूले लगाएका छन् ।

राजधानी ढाका बाहिरको नारायणगञ्जमा हेफाजतका समर्थकहरूले ‘कारवाही, कारवाही, सीधा कारवाही’ नारा लगाउँदै ढाका र चित्तगोङ जोड्ने राजमार्ग अवरुद्ध गरेका थिए ।

सयौं प्रदर्शनकारीले सडकमा फर्निचर र टायर डढाउँदै मोदीविरोधी नारा लगाएका थिए अनि प्रदर्शनकारीमाथि गोली चलाइएको विषयमा अनुसन्धानको माग राखेका थिए ।

प्रदर्शनकारीहरूले राजमार्गका विभिन्न स्थानमा अवरोध गरेपछि प्रहरीले अश्रूग्यास र रबरका गोली चलाएका थिए । उक्त हिंसामा परि दजनौ घाइते भएका छन् ।

एजेन्सी

प्रतिक्रिया