

४१ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी

काठमाडाैं- ट्रम्प प्रशासनले ४१ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी सरकारले यी देशलाई तीन समूहमा वर्गीकरण गरेको छ ।
पहिलो समूह: पूर्ण प्रतिबन्ध
पहिलो समूहमा अफगानिस्तान, इरान, सिरिया, क्युबा, उत्तर कोरियालगायत १० देश परेका छन्। यी देशका नागरिकलाई पूर्ण रूपमा भिसा नदिने निर्णय गरिएको छ ।
दोस्रो समूह: आंशिक निलम्बन
दोस्रो समूहमा इरिट्रिया, हाइटी, लाओस, म्यानमार, र दक्षिण सुडान गरी ५ देश छन् । यी मुलुकका नागरिकलाई पर्यटक, विद्यार्थी, र आप्रवासी भिसामा आंशिक निलम्बन गरिनेछ ।
तेस्रो समूह: सुधारको समयसीमा
तेस्रो समूहमा २६ देश समेटिएका छन्, जसमा बेलारुस, पाकिस्तान, तुर्कमेनिस्तान आदि छन् । यदि यी देशका सरकारले ६० दिनभित्र आफ्ना कमजोरी सच्याएनन् भने, उनीहरूलाई आंशिक भिसा प्रतिबन्ध लगाइनेछ ।
एक अमेरिकी अधिकारीका अनुसार यो सूचीमा परिवर्तन हुन सक्नेछ । यसबारे अन्तिम निर्णय अमेरिकी प्रशासन र विदेशमन्त्री मार्को रुबियोले गर्नेछन् ।

