काठमाडाैंमा बढ्यो प्रदूषण, हिजोभन्दा आज बढी प्रदूषित


काठमाडौं – काठमाडौं उपत्यकामा शुक्रबार (आज) वायु प्रदूषण बिहीबारभन्दा बढेको छ । उपत्यकाका रत्नपार्क, खुमलटार, भक्तपुरलगायत स्थानमा शुक्रबार बिहान ११ः४५ बजे वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १५२ देखि १६१ सम्म छ ।

वातावरण विभागको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा यी स्थानको औसत एक्यूआई १५९ पुगेको थियो । काठमाडौंको वायुमा शुक्रबार दिनभर (पर्टिकुलेट म्याटर (पीएम) २.५ को मात्रा बढ्दै जाने र साँझ ७ बजे १२०.४३ माइक्रोग्राम प्रतिघनमिटरसम्म पुग्ने विभागले बताएको छ ।

शुक्रबार ११ः४५ बजे पीएम २.५ सबैभन्दा बढी ललितपुुरको खुमलटारमा ६४.६ छ । पीएम २.५ को मात्रा ५ माइक्रोग्राम  प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो उति हानिकारक मानिन्छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

पाकिस्तान र भारतको वायु प्रदूषणको प्रभाव र स्थानीय चिसोका कारण नोभेम्बर पहिलो सातायता काठमाडौंसहित तराईका अधिकांश जिल्लामा वायु प्रदूषण बढेको छ ।

प्रतिक्रिया