बोधिचित्तको रुख काट्ने मुख्य योजनाकार माओवादी नेता मैनाली थुनामा


काभ्रे – सात महिनाअघि काभ्रेपलाञ्चोकको रोसी गाउँपालिका–५, नागबेलीस्थित ठकुरानी तामाङको बारीमा रहेको बोधिचित्तको रुख कटान गर्ने मुख्य योजनाकार र घटनामा संलग्न अर्का एक व्यक्ति पुर्पक्षका लागि थुनामा गएका छन् ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतले सोमबार थुनछेक बहसका व्रmममा गत चैत ३० गते राति रोसी गाउँपालिका–५, नागबेलीस्थित तामाङको घरबारीमा रहेको बोधिचित्तको रुख कटान गर्ने मुख्य योजनाकार नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता रोसी गाउँपालिका–६ का ४१ वर्षीय रामकृष्ण मैनाली (सागर) र रोसी गाउँपालिका–६ का २७ वर्षीय विजय हुमागार्इंलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

मैनाली र हुमागाईंलाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले शुक्रबार राति सूर्यविनायक नगरपालिका–८, जगातीबाट पक्राउ गरेको थियो । गत चैत ३० गते राती करिब १ बजेको समयमा १५/२० जनाको हतियारधारी समूहले तामाङको घरमा चार थान सकेट बम राखी बारीमा रहेको बोधिचित्तको रुख काटेको थियो ।

बोधिचित्तको रुख कटानका मुख्य योजनाकार रामकृष्ण मैनाली (सागर), कवीन्द्र तामाङ, विजय हुमागाईं, असल मोक्तान, अजय भन्ने रामजी श्रेष्ठ, चिनियाँ व्यापारी याङ कैलिङ फरार थिए ।

रुख कटानमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँले चैत ३० गते मानबहादुर तामाङलाई काठमाडाैंबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको जिम्मा लगाएको थियो ।

घटनामा संलग्न मानबहादुरसहित अन्य व्यक्तिलाई अपराधिक उपद्रव र विस्फोटक पदार्थ तथा सङ्गठित अपराधमा मुद्दा चलाइएको थियो । उक्त मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले बोधिचित्तको रुख कटानमा संलग्न रहेको आरोपमा मानबहादुरलाई गत जेठ २८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

यस्तै बोधिचितको रुख कटानको आरोपमा पक्राउ परेका धीरज भन्ने श्यामकृष्ण मैनाली, प्रभात भन्ने दुर्गाबहादुर तामाङको हकमा जिल्ला सरकारी वकिलको कार्यालय काभ्रेपलाञ्चोकले मुद्दा नचलाउने निर्णय गरी उच्च अदालत पाटन पठाइएको थियो ।

प्रतिक्रिया