बन्द गरियो केदारनाथका ढोका
काठमाडौं- विश्वप्रसिद्ध एघारौं ज्योतिर्लिङ्ग केदारनाथ धामको ढोका बन्द गरिएको छ । पवित्र पर्व भैयादुजको अवसरमा आइतबार बिहान ८:३० बजे जाडोका लागि ढोका बन्द गरिएको छ । भारतीय सेनाको ब्यान्ड धुन र वैदिक मन्त्रका साथ धार्मिक परम्परा अनुसार मन्दिरको ढोका बन्द गरिएको थियो । यो अवसरमा १५ हजारभन्दा बढी भक्तजनहरुको उपस्थिति रहेको थियो । अब ६ महिनापछि मात्रै केदारनाथका ढोका खुल्नेछ्न् ।
बिकेटीसीका अध्यक्ष अजेन्द्र अजयको उपस्थितिमा आइतबार बिहान ५ बजेबाट ढोका बन्द गर्ने प्रक्रिया सुरु भएको थियो । बिकेटीसीका आचार्य, वेदपाठी र पुजारीले भगवान केदारनाथको स्वयम्भू शिवलिङ्गको समाधि पूजा गरेका थिए । स्वयम्भू शिवलिङ्गलाई खरानी, स्थानीय फूल, बेलका पात आदिले समाधिको रूप दिइएको थियो । त्यसपछि बिहान ८ः३० बजे निर्धारित समयमा बाबा केदारको पञ्चमुखी उत्सव डोलीलाई मन्दिरबाट बाहिर ल्याएर श्री केदारनाथ मन्दिरको ढोका बन्द गरिएको थियो ।
ढोका बन्द भएपछि बाबा केदारको पञ्चमुखी उत्सव डोली आफ्नो पहिलो बिन्दु रामपुरतर्फ प्रस्थान गरेको छ । बाबाको पञ्चमुखी डोली लिएर हजारौं भक्तजन पैदलै प्रस्थान गरेका छन् ।
यस अवसरमा बीकेटीसीका अध्यक्ष अजेन्द्र अजयले भने, ‘यस सिजनको यात्रा अवधिमा १६.५ लाखभन्दा बढी तीर्थयात्री श्री केदारनाथ धाम पुगेका थिए । आज देशका विख्यात प्रधानमन्त्री श्री नरेन्द्र मोदीको दर्शनमा भव्य र दिव्य केदारपुरीको पुनर्निर्माण भइरहेको छ म मुख्यमन्त्री श्री पुष्कर सिंह धामीको नेतृत्वमा केदारनाथ धाम यात्रा सफलतापूर्वक सम्पन्न भयो । उनले यात्राको सफल सञ्चालनका लागि बीकेटीसी कर्मचारी, प्रहरी प्रशासन, यात्रा व्यवस्थासँग सम्बन्धित विभिन्न विभागहरू, एनआएडीफ, एससीआरएफ, आइटीबीपी आदिलाई धन्यवाद।’
ढोका बन्द भएसँगै बाबा केदारको पञ्चमुखी डोली हिउँदे विश्रामस्थल ओमकारेश्वर मन्दिर उखीमठतर्फ प्रस्थान गरेको छ । जाडो याममा उखीमठको ओमकारेश्वर मन्दिरमा मात्रै बाबा केदारको पूजा आराधना हुने गरेको छ ।