प्रहरीकै कारण २६ वर्षअघि स्थापना भएको सीमा प्रहरीचौकी सार्नु परेपछि…


काठमाडाैं- विसं २०५८ सालमा नेपाल–भारत सीमा क्षेत्रमा रहेको बैतडीको पञ्चेश्वर गाउँपालिका– २, डिम्बरघाटमा महाकाली सीमा प्रहरी चौकी स्थापना भएकाे थियाे । साे प्रहरी चौकमा सईको नेतृत्वमा ४ जना प्रहरी बस्थे । त्यहाँका प्रहरी सईको फागुनतिर सरुवा भएपछि प्रहरी हवल्दार कृष्णराज जोशी जोशीले इन्चार्जको जिम्मेवारी सम्हालिरहेका थिए ।

त्यसैबीच गत असोज २५ गते बिहानदेखि बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी साढे १७ बर्षीया किशोरी बेपत्ता  भइन् । उनी बेपत्ता हुनुमा हवल्दार  जोशीकाे संलग्नता देखियाे । किशोरी बेपत्ता प्रकरणमा  जोशी मुछिएपछि प्रहरीचौकी नै सारिएको छ ।

तत्कालका लागि अस्थायी रुपमा महाकाली प्रहरीचौकीलाई कुलाउ प्रहरीचौकीमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार महाकाली प्रहरीचौकीलाई कुलाउमा सारिएको हो ।

महाकाली प्रहरीचौकीको भाडामा लिएको भवन जीर्ण रहेको, ५ जनाभन्दा बढी बस्न नमिल्ने खालको भएको, बस्तीबाट अपायक ठाउँमा रहेको, सञ्चार सम्पर्क समेत नहुने भुगोल रहेकाले तत्कालका लागि प्रहरीचौकी सारिएको प्रहरी निरीक्षक ढुंगानाले बताए । उनले भने ‘महाकाली प्रहरीचौकी तत्कालका लागि कुलाउमा सारिएको छ । महाकाली प्रहरीचौकीका सबै जवानहरु अहिले कुलाउमै बस्ने गरेका छन् । पछि उपयुक्त भुगोल हेरर चौकी स्थापना गर्छौं ।’

महाकाली क्षेत्रमा कुलाउबाटै प्रहरीको टोली गस्तीमा जाने गरेको छ । महाकाली नदीस्थित डिम्बर घाटबाट अवैध सामान आयत हुनसक्ने भएकाले गस्ती भने नियमित हुने गरेको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

उनले विभिन्न कारण दिएपनि किशोरी बेपत्ता प्रकरणपछि नै प्रहरी चाैकी सारिएकाे बताइएकाे छ । यद्यपि यसअघि भौगोलिक विकटता हुनाले घटनाअघि नै प्रहरी चौकी सार्नका लागि स्थानीय जनप्रतिनिधिले कसरत गरेका थिए । घटनापछि दोस्रो पटक पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दसहित स्थानीयले चौकी सार्न ज्ञापनपत्र नै बुझाएका थिए ।  जनप्रतिनिधिसहित ६४ जनाले हस्ताक्षर गरेर प्रहरीचौकी सानुपर्ने मागसहितको पत्र जिल्ला प्रहरी कार्यालयमा बुझाएका थिए ।

बेपत्ता भएकी किशोरीसँग प्रहरी हवलदार जोशीको सम्पर्क रहेकाले उनले नै किशोरीलाई बेपत्ता पारेको किशोरीका आफन्तले आरोप लगाएका छन् ।  पीडित किशोरीको परिवारले प्रहरी हवल्दार जोशीविरुद्ध व्यक्ति बेपत्ता पार्ने कसुरमा किटानी जाहेरी दिएका थिए ।  उनीमाथि प्रहरीले मानिस बेपत्ता पार्न नहुने कसुरमा अनुसन्धान गरिरहेको छ । जिल्ला अदालतबाट दोश्रो पटक म्याद थपेर जोशीमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

जोशीमाथि मुद्दा लागेसंगै उनलाई निलम्बन गरेर प्रहरीले अनुसन्धान कार्य अघि बढाएको छ । प्रहरी नियन्त्रणमा रहेका जोशीले आफ्नो बयानमा किशोरीसंग सम्बन्ध रहेको कुरा स्वीकार गरेका भएपनि बेपत्ता भएको विषयमा भने आफू अञ्जान रहेको बताउँदै आएका छन् ।

‘जोशीले किशोरीसँगको सम्बन्धको बारेमा स्वीकार गरेका छन् । असोज २५ गते बिहानसम्म भेटघाट भएको कुरा पनि स्वीकारेका छन् । तर त्यसपछि किशोरी कहाँ गइन् भन्ने कुरा आफूलाई थाहा नभएको भनिरहेका छन् ’प्रहरी निरीक्षक ढुंगानाले भने, ‘किशोरीसँग पहिलादेखिको सम्बन्ध स्वीकार गरेपनि पछि कसरी बेपत्ता भइन् भन्ने विषयमा जोशीले केही बोलेका छैनन् ।’

किशोरी र प्रहरी हवलदारबीचको सम्बन्धका बारेमा परिवार र आफन्तलाई थाहा भएको विषयमा किशोरीले प्रहरी हवल्दार जोशीलाई जानकारी दिएकी थिइन् । असोज २५ गते बिहान आफूलाई समस्या परेको भन्दै उनी प्रहरी हवलदारलाई भेट्न पुगेकी थिइन् । त्यसपछि उनी पानी ल्याउन जान्छु भन्दै त्यँहीबाट बेपत्ता भएकी थिइन् । उनको अवस्था अहिले पनि अज्ञात रहेको छ ।

सम्भावित सबै स्थानमा खोजी गरिएको भएपनि किशोरीको अवस्था थाहा हुन नसकेको प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए । अहिले पनि खोजी कार्य जारी रहेको र पक्राउ परेका जोशीमाथि अनुसन्धान कार्य पनि जारी रहेको उनले बताए ।

 

 

प्रतिक्रिया