उडान सुरु गरेको एक महिनामै थाई एयर एसियालाई नेपालमा प्रतिबन्ध


काठमाडौं-  नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको जहाजलाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ ।

आइतबार  उडान अनुमति नलिई यात्रुसहित थाइल्यान्डबाट काठमाडौँ आएको उक्त जहाजलाई नेपालमा उडान प्रतिबन्ध गरिएकाे हाे ।

सँगै वायु सेवा कम्पनीको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजतसमेत निलम्बन गरिएको हाे  । तत्कालका लागि उसको जिएसएलाई दिइएको अनुमतिसमेत खारेज गरिएको  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । वायुयानलाई अनुमति नलिई काठमाडौँ ल्याउने काम सम्बन्धित जिएसए कम्पनीको भएकाले जिएसए खारेज गरिएको उनले बताए ।

थाई एयर एसियाको नेपालका लागि जिएसए कम्पनी युनिभर्सल टुर्स एन्ड ट्राभल हो ।  यो वायु सेवाले भैरहवाबाट उडान सुरु नगरेसम्म हिउँदे उडान तालिका अनुसार काठमाडौँमा मात्रै उडान गर्न नपाउने सर्त प्राधिकरणले राखेको थियो । उक्त सर्तको उल्लङ्घन गर्दै गर्मीयामको उडान तालिका अनुसार जहाज काठमाडौँ आएपछि कारबाही अघि बढाइएको हो । करिब एक घण्टा आकाशमै होल्ड गरिएको उक्त जहाजलाई विशेष चार्टर उडानको अनुमति दिएर अवतरण अनुमति दिइएको थियो ।

जहाजको उडान अनुमति शनिबार नै सकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक जगन्नाथ निरौलाले बताए ।

प्रतिक्रिया