आफूलाई निर्वाचन आयुक्त बन्न ‘भाँजो हाल्ने’ महिलाविरुद्ध प्रधान गए अदालत
काठमाडौं — निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित भएर अस्वीकृत भएका कृष्णमान प्रधानले संसदीय सुनुवाई समितिमा उजुरी दिने एक महिलाविरुद्ध मुद्दा दायर गरेका छन् ।
अदालतमा मिलापत्र भइसकेको विषयलाई गाली बेइज्जती गर्ने उद्देश्यले संसदीय सुनुवाइ समितिमा प्रवेश गराएको भन्दै प्रधानले एक महिलाविरुद्ध मुद्दा दायर गरेका हुन् ।
तिनै महिलाकै उजुरी आधारमा आयोगको आयुक्तमा प्रस्तावित प्रधान अस्वीकृत भएका थिए । प्रधान नेपाल कानुन आयोगको कार्यकारी निर्देशक हुँदा आफूलाई कार्यालयमा इच्छाविपरीत यौन सम्पर्क गरेको भन्दै ती महिलाले संसदीय सुनुवाई समितिमा उजुरी दिएकी छन् ।
प्रधानले आफूविरुद्ध उजुरी गरेकी ती महिलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् । प्रधानले प्रतिवादीसँग १० करोड रुपियाँ क्षतिपूर्ति र मुद्दाका क्रममा लाग्ने खर्च पाँच लाख रुपियाँसमेत गरी १० करोड ५ लाख रुपैयाँ भराउने आदेशको माग पनि गरेका छन् ।
द्विपक्षीय सहमतिमा टुङ्गिएको र मिलापत्रको सहमतिविपरीत उजुरी गरेको भन्दै प्रधानले मुद्दा दर्ता गरेका हुन् ।
सुनुवाइ समितिमा अस्वीकृत भएको दुई महिनापछि प्रधानले अदालतमा मुद्दा दायर गरेका हुन् ।