नेपाल समूहसहितको बैठकमा ओलीले भने- दुई जनाको स्पष्टिकरण कारबाही योग्य छ, खनालले के भने?


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेता माधवकुमार नेपाल र उपाध्यक्ष भिम रावलले पठाएको स्पष्टिकरणको पत्र चित्त बुझ्दो नभएको भन्दै कारबाही योग्य रहेको बताएका छन्। शुक्रबार सरकारी निवास बालुवाटारमा नेपाल समूहका सांसदसहित बसेको बैठकमा उनले अन्य दुई जना नेताको स्पष्टिकरण पत्र आउन बाँकी रहेको र त्यो अन्यको जस्तो नआउने आफूले विश्वास लिएको बताएका हुन्।

पार्टी हितविपरित काम गरेको भन्दै नेपाल, रावलसहित घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई एमाले केन्द्रीय कमिटीले स्पष्टिकरण सोधेको थियो। संसदीय दलको बैठकमा नेपाल समूहबाट बरिष्ठ नेता झलनाथ खनालसहितका सांसद सहभागी थिए। नेपाल र रावल भने पुगेका थिएनन्।

नेपाल र रावलमाथि कारबाही हुने भए पनि कस्तो प्रकारको भन्नेचाहिँ आगामी एमाले केन्द्रीय कमिटीको बैठकले निर्णय गर्ने भएको छ।
‘नेता खनालले एमाले २ जेठ ०७५ मा नै पुगेकाले मिलाएर लैजाने दायित्व अध्यक्षको रहेको भन्नुभयो, २८ फागुनमा माओवादीबाट आएका नेतालाई दिएको जिम्मेवारी पनि खारेज गर्नुपर्ने भन्नुभयो’, बैठकबारे जानकारी दिँदै एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने,‘प्रधानमन्त्रीले अदालतको फैसलापछि त्यहिँ पुगेको र पार्टीको नियमअनुसार वैधानिक हिसाबले बैठक चलेको बताउनुभयो। ति फिर्ता नहुने बताउनुभयो।’

माओवादीबाट आएका रामबहादुर थापालगायतका नेतालाई व्यवस्थापन गर्नुपर्ने भएकाले २८ फागुनसहित अहिलेसम्मका सबै बैठकका निर्णय फिर्ता नहुने ओलीको भनाई थियो। उनले नेपाल समूहका सांसदले पार्टी मिलाएर लैजाने जिम्मेवारी प्रधानमन्त्रीकै भएको भनेपछि, मिलाएर लैजाने तर पार्टीको बैठकमा यसैगरी सहभागी हुनका लागि निर्देशन दिएका थिए। पार्टीभित्र दुई धार हुने भएकाले कतिपयका भनाई र असहमतिलाई समेत समेटेर वैधानिक हिसाबले पार्टी अगाडि बढ्न सुरु गरेको भट्टराईले बताए।

प्रतिक्रिया