यसरी बनेको थियो झा दम्पत्ती हत्या योजना, ‘कंकाल शव’ निकालेपछि खुल्दैछन् भित्री कथा
काठमाडौं– बहुचर्चित आपराधिक घटनामा प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) धीरजप्रताप सिंहले ठूलो सफलता पाएका छन्।
डिआईजी सिंहको निर्देशनमा खटिएको प्रदेश प्रहरीको बिशेष सर्च टोलीले एक महिनाअघि बेपत्ता भएका महोत्तरी जिल्लाको पिपराका एक दम्पत्तिको शव गाडिएको अवस्थामा विहीबार फेला पारिएको हो।
अपराध अनुसन्धानमा बिशेष दख्खल राख्ने डिआईजी सिंहले खटाएको अनुसन्धान टोलीले खाल्डोमा गाडेको अवस्थामा उनीहरुको मानव कंकाल हुन लागेको शव उत्खनन् गरिएको थियो।
पिपरा गाउँपालिका–५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा १० फागुनदेखि बेपत्ता भएका थिए।
झा दम्पत्तिको घरभन्दा झण्डै साढे ३ किलोमिटर दूरीमा शव फेला परेको हो। शव चाँडै कुहियोस् भनेर नुन पनि हालेको अबस्थामा कंकाल हुन लागेको शव उत्खनन् गरिएको थियो।
खाल्डो खनेर निकालिएको शवको दम्पतिको छोराबुहारीले सनाखत गरेका हुन्। गीतादेवीले लगाएको कपडा, पोते र चुराले उनको पहिचान भएको छ भने मुसाफिरले लगाएको टिसर्टले उनको पहिचान भएको सिंहले बताए।
प्रहरीसँग घटनाक्रम अनुसार र पर्याप्त प्रमाण रहेका कारण अभियुक्त समातिएको भन्दै अभियुक्तले दिएको बयान पोलियोग्राफ परीक्षणमा पनि गलत साबित भएको सिंहले बताए।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) टोली पनि त्यहाँ पुगे पनि जिल्ला प्रहरी कार्यालय महोत्तरीले शव भेटिनुपूर्व नै अभियुक्त सार्वजनिक गरेको थियो। उनीहरुको हत्या जग्गा विवादले भएको प्रहरीको दावी छ।
झा दम्पत्ती हत्या प्रकरणमा प्रहरीसँगको प्रमाणले डिआईजी सिंहलाई शव नभेटिँदै आरोपी सार्वजनिक गर्न बल मिलेको थियो। टिसर्टमा रहेको रगतले पनि शव नभेटिँदै अभियुक्त समात्न सिंह सफल भए। १० फागुनमा भएको उक्त घटनाको लामो समयसम्म उनीहरुको अवस्था पत्ता लाग्न सकेको थिएन।
झा दम्पती फेला नपर्दा र दोषी पक्राउ नपरेकाले प्रहरीमाथि दबाब बढ्दै गयो। यद्यपि, प्रदेश २ को प्रदेश प्रहरी कार्यालय र जिल्लाको प्रहरी टोली अनुसन्धानमा खटिरहेको थियो। घटनाको अनुसन्धानकै लागि प्रहरीको तालिम प्राप्त कुकुर पनि प्रयोग गरिएको थियो।
यसक्रममा प्रहरीले थुप्रै व्यक्तिलाई नियन्त्रणमा लिएर बयान लियो भने जिल्लादेखि बाहिर स्थानमा पनि बेपत्ता झा दम्पतीको खोजी कार्य तीव्र पारेको थियो। प्रहरीले झा दम्पतीकै परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएर सुरुमा सोधपुछ थालेको हो।
५ चैतमा घटनामा संलग्न भएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो। सहोडबाका ५२ वर्षीय रामबाबु यादव, उनका जेठो छोरा २६ वर्षीय सुरेन्द्र यादव, कान्छो छोरा २४ वर्षीय राजेन्द्र यादव र पिपरा गाउँपालिका–६ बनौली चोक बस्ने भारतीय नागरिक ५० वर्षीय हरेन्द्र ठाकुरलाई प्रहरीले पक्रेर सार्वजनिक गरेको हो।
यीनले कसुर अस्वीकार गरेपछि अझ ठोस प्रमाणका लागि शव फेला पार्नु प्रहरीका लागि अनिवार्य थियो।
शव फेला परेसँगै घटनाका धेरै रहस्य उजागर मात्र भएको छैन, प्रहरीलाई आरोपीहरुलाई सजाय दिलाउन प्रमाण जुटाउन पनि सहज भएको छ।
यसरी बन्यो हत्याको योजना
घटना अनुुसन्धानमा संलग्न एक अधिकारीका अनुसार जग्गाको विवादका कारण झा दम्पतीको अपहरण र हत्या भएको हो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेका भारतीय नागरिक हरेन्द्र जग्गा कारोबारी हुन्। ठाकुरको समूहले महोत्तरी, सहोडबामा १३ बिगाहा जग्गामा प्लटिङ गरेका थिए।
प्लटिङको उत्तरतर्फ झाको १४ कट्ठा जग्गा थियो। त्यसभन्दा उत्तरतर्फ हरेन्द्रले २ बिगाहा जग्गा लिएका थिए। आफ्नो जग्गासम्म पुग्ने बाटो नभएपछि हरेन्द्रले झाको जग्गा किन्न खोजेका थिए। तर झाले जग्गा बेच्न मानेका थिएनन्।
ठाकुरले झालाई प्लटिङ स्थलमा बोलाउने र बाटो नभएकै कारण घडेरी बन्ने जग्गा खेत हुने भन्दै जग्गा बेच्न दबाब दिँदै आएको प्रहरीको भनाइ छ। घटनामा संलग्नताको आरोपमा पक्राउ परेका ५२ वर्षीय रामबाबु यादव पनि ठाकुरकै ‘पार्टनर’ भएको प्रहरीले जनाएको छ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार झा दम्पतीले जग्गा बेच्न नमानेपछि आरोपीहरुले अपहरण र हत्याको योजना बनाएका हुन्। ठाकुर र यादवलाई यादवकै छोराहरु सुरेन्द्र, राजेन्द्रले सहयोग गरे।
‘आरोपीहरुले सकेसम्म झा दम्पती आफै बेपत्ता भएको बनाउन खोजेका थिए। तर, घटनामा हतियारको प्रयोग हुँदा घटनास्थलमा रगतको टाटा भेटियो,’ अनुसन्धानमा संलग्न ती अधिकारीले भने, ‘झाको घरभन्दा दुई तीन घर पर यादवको घर छ। त्यही दम्पतीलाई लगेको हाम्रो अनुसन्धानमा देखिएको छ।’
उनका अनुसार यादवको घरमा रगतको टाटा देखियो। दुवै ठाउँको रगत एकै व्यक्तिको भएको पुष्टि प्रयोगशालाबाट भए पनि कसको हो भन्नेचाहिँ यकिन भइसकेको छैन।
उनीहरुले सकेसम्म रगतका टाटा पनि पुछ्न खोजे तर राति सबै सम्भव नभएको ती अधिकारीको भनाइ छ। ‘घटनाको अघिल्लो दिन र घटनाको बिहान हरेन्द्रको मोबाइल लोकेशन त्यस क्षेत्रमा जनकपुरमा देखिएको छ। यसबीचमा ठाकुरले यादवलाई पटकपटक सम्पर्क गरेको देखिएको छ,’ उनले भने।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले दम्पतीलाई धेरै टाढा पुराएको हुन नसक्ने अनुमानमा घटनास्थल वरिपरि नै खोजी जारी राखेकाले शव फेला परेको बताए।
आरोपीहरुले कसुर स्वीकार नगरे पनि प्रहरीले अपहरण तथा हत्याको कसुरमा २५ वर्षसम्मको सजाय मागदाबी सहित मुद्दा बुझाउने तयारी गरेको छ। यसअघि शव फेला नपर्दा अपहरण तथा मानिस बेपत्ताको कसुरमा साढे २२ वर्षसम्मको सजाय मागदाबीसहित मुद्दा लैजाने प्रहरीको तयारी थियो।
डिआईजी सिंह अपराध अनुसन्धानमा क्षमतावान सुरक्षा अधिकारीका रुपमा हेरिँदै आएका छन्। प्रदेश २ को शान्ती सुरक्षालाई चुस्त दुरुस्त राख्न सिंह सफल देखिन्छन्।
स–साना घटना बाहेक ठूलो घटना घटेको देखिँदैन। झा दम्पत्ति बेपत्ता प्रकरणमा पनि दोषिलाई कानुनी कठघरामा ल्याउन उनले सफलता हात पारे। भूमिगत समूहको गतिविधि शुन्य प्राय जस्तै देखिन्छ।
प्रदेश २ को सुरक्षा चुनौतीलाई मध्यनजर गरेर गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले त्यहाँको सुरक्षा जिम्मेवारी दिएर पठाएको हो। झण्डै एक बर्ष बिताउन लागेका सिंहले अपराध नियन्त्रणमा थुप्रै काम गरेका छन्।
उनी व्यवसायीक प्रहरी अधिकारीको रुपमा प्रहरी संगठनभित्र चिनिन्छन्। कामले अब्बल मानिएका सिंह काठमाडौंमा अपराध अनुसन्धान महाशाखाको प्रमुख भएर राम्रो काम गरे अनि चर्चा बटुले।
पर्सामा रहदाँ सहायक सिडिओ बलबहादुर मल्ललाई गोली हान्ने सुटर रितेश तिवारीलाई उनले पक्राउ गरेका थिए। दाङमा व्यापारी राजकुमार श्रेष्ठको हत्यारा पनि उनले पत्ता लगाएका थिए। सिंह संगठित अपराधका जानकार पनि हुन्।