पश्चिमी वायुको प्रभाव : प्रदूषणले ढाकियो उपत्यका, वर्षा नहुँदासम्म कायम रहने
काठमाडौं : पश्चिमी वायुको प्रभाव र वायुमण्डलमा जम्मा भएका धुलोका कणका कारण काठमाडौं उपत्यका तुवालोले ढाकिएको छ ।
बिहानैदेखि धुम्मिएको मौसम अपरान्ह सम्म पनि उस्तै रहेको छ । प्रतिकुल मौसमी अवस्थाका कारणले प्रदूषित हावा उपत्यकाभित्रै जाम भएको छ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी वायुको प्रभाव देखिएको छ । मौसमविद् प्रधानाङ्गले भने, ‘भिजिबिलिटी पनि कम भएको छ। यो अवस्था वर्षा नहुँदासम्म कायम रहने देखिन्छ।’ उनका अनुसार उपत्यकासँगै पहाडी र केही पहाडी भूभागको समेत मौसम बदली भएको छ।
वायु प्रदूषण खतराको तहमा पुगेपछि वातावरण विभागले बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वासका र मुटुका विरामी सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको छ।