

दुई दिनमै फेरियो मोरङ प्रहरी प्रमुखकाे काज सरुवा, अब चिमरियालाई पठाइने

काठमाडाैं- जिल्ला प्रहरी कार्यालय, मोरङको नयाँ प्रमुखका रुपमा पठाउन भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले गरेको निर्णय दुई दिनमै फेरिएको छ । कार्तिक २ मा प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक राजन लिम्बुलाई जिल्ला प्रहरी कार्यालय मोरङको प्रमुखमा पठाउने निर्णय गरेको थियो । अब भने एसपी नारायण चिमरियालाई काज सरुवा गर्ने निर्णय गरिएको छ ।
लिम्बू पहिले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) समेत रहिसकेका प्रहरी अधिकृत हुन् । स्रोतका अनुसार सत्तारुढ नेपाली कांग्रेसका प्रदेशस्तरीय नेताले गृहमन्त्री रमेश लेखकसँग असहमति जनाएपछि लिम्बूको सरुवा रद्द भएको हो ।
यसअघि त्यहाँका प्रमुख एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका थिए । मोरङमा सरुवा भएको ८ महिनामा उनलाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको थियाे । उनीमाथि आर्थिक अपचलन गरेको आरोपमा छानबिन भइरहेको छ ।

