

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

काठमाडौं- सुन र चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आइतबार नयाँ रेकर्ड कायम भएकोमा त्यो रेकर्ड २४ घण्टामै तोडिएर अर्को नयाँ रेकर्ड कायम भएको हो ।
सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महसंघले आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । आइतबारको बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
आइतबार नेपाली बजारमा चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

