रवि लामिछानेलाई तत्काल पक्राउ गर्न दबाब
काठमाडौं- सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिने तयारी गरेको फेरि चर्चा चलेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई तत्काल पक्राउ गर्न सरकारमाथि दबाब दिएका हुन् ।
गोरखा मिडियाका चारजना सञ्चालकमध्ये छवि जोशी दसैँअघि नै पक्राउ परेर अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । अब लामिछानेलाई पनि अनुसन्धानको दायरामा ल्याउन सरकार तयार रहेको र उनलाई जुनसुकै बेला पक्राउ गर्न सकिने स्रोतले जानकारी दिएको छ । ‘उहाँलाई पनि अनुसन्धानको दायरामा ल्याएर संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ भन्ने आवाज सरकारमा रहेको दलभित्र निरन्तर उठिरहेको छ । उनी जुनसुकै बेला पक्राउ पर्न सक्छन्,’ स्रोतले भन्यो ।
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणमा रहेकै बेला प्रहरीले लामिछानेलाई पक्राउको तयारी गरेको थियो । त्यतिबेला रास्वपाको मुख्यालय घण्टीघरमा नेता तथा कार्यकर्ता भेला भएर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
गोरखा मिडिया नेटवर्कमा सहकारीबाट गैरकानुनी रुपमा ६५ करोडभन्दा बढी ल्याएर अपचलन गरिएको एमाले सांसद सूर्य थापा नेतृत्वको छानबिन समितिको निष्कर्ष छ ।