बाढी, पहिरो प्रभावितको पीडा : ‘न बस्ने बासको ठेगान छ, न छ खाने गासको’


सिन्धुली- पाँच जनाको परिवार खुसी थियो । दसैँ मनाउन खर्च जुटाइसकेका थिए । तर दसैँ आउनुअघि दशा बनेर आयो बाढीपहिरो । बाढीले धान खेत बगर बनायो । घरमा भएका सामान केही निकाल्न पाएनन् । पहिरोले घर ध्वस्त पार्यो ।

बाढीपहिरोले घरखेत सखाप पारेर सुकुम्बासी बनाए पनि परिश्रम गरेर पुरानै लयमा फर्किने हिम्मत जुटाउथे । पहिरोले बुढेसकालको साहारा लुट्यो । घर माथिबाट झरेको पहिरोले घर थिच्यो । घरले विनय कोइरालालाई किच्यो ।

बचाऊ, बचाऊ, भनेर छोरोले हारगुहार गरेको आवाज बोधकुमार कोइराला र बिन्दा कार्कीको कानमा अहिले पनि तरङ्गिरहन्छ । हाँसिरहने छोरो आँखा अगाडि छाँया बनेर नाचिरहन्छ । छाँयामा छोरोलाई छुन खोज्दा पाउँदैनन् । झर्छन् आँशु, भक्कानो फुट्छ ।

यो कथामात्रै होइन, वास्तविक यथार्थ हो, सिन्धुलीको सुनकोसी गाउँपालिका–१ नेपालथोकका कोइराला परिवारको । यतिबेला यो परिवार शोकमा डुबेका छ । “माथ्लो घरले लगाएको पर्खाल खसेर मेरो घर डल्यो, घरले थिचेर छोरोको ज्यान गयो”, आमा बिन्दाले भक्कानिँदै दुःखेसो गरे, “हामीले तत्काल निकाल्न सकेनौँ । प्रहरीले २४ घण्टापछि निकाल्दा शरीर गन्हाउन थालिसकेको थियो ।”

बिन्दा र बोधकुमारका दुई छोरा थिए । जेठो सन्तान १२ वर्षीय विनयको १२ असोजमा पहिरोका कारण मृत्यु भयो । ज्वालादेवी सेकेन्डरी स्कुलमा कक्षा ६ मा पढ्दै गरेका विनय बितेपछि बिन्दा र बोधकुमारका काखमा कान्छो सन्तान विजय छन् । दुवैको काँधमा १० वर्षे विजयको पढाई र कपाल सेतै फूलेकी आमाको पालनपोषणको जिम्मेवारी छ ।

साढे तीन रोपनीमा लगाएको धान थन्क्याउने बेला भएको थियो । बाढीले सबै धानबाली सखाप बनाएको छ । गाईसहित गोठमा भएका पशुबस्तु पुरिए । दुई आनामा ढुङ्गामाटोले बनाएको घरगोठसहितको जग्गा पहिरोले प्रयोग नै गर्न नमिल्ने गराएको छ । यतिबेला यो परिवारको न बस्ने बाँसको ठेगान छ, न छ खाने गाँसको ।

“एउटा छोरो दैवले लगे पनि चार जना बाँचेका छौँ । खान त बनिबुतो गरेर खाउँला । बस्ने बासको व्यवस्था गरिदिएहुन्थ्यो”, बोधकुमारले भने । बाढी, पहिरोले घरगोठ रित्याएर विस्थापित भएका कोइराला परिवार हाल एक स्थानीयकै घरमा आश्रय लिएर बसेका छन् ।

यही असोज १० र ११ गते परेको मुसलधारे वर्षाका कारण आएको बाढी, पहिरोमा परेर जिल्लामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार एक जनाको बाढीमा र दुई जनाको पहिरोमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा कमलामाई नगरपालिका–९ भिमानका ४६ वर्षीय कृष्णबहादुर बोगटी, सुनकोसी गाउँपालिका–१ नेपालथोकका १२ वर्षीय विनय कोइराला र सुनकोसी–२ गोख्रेनीका ४५ वर्षीय गणेश गुर्मछाने छन् ।

सिन्धुलीमा भौतिक क्षतिको अवस्था भयानक छ । सुनकोसी–१ नेपालथोक, दुम्जामा भुपाल घिसिङले दुई वर्षअघि नमुना पेट्रोलपम्पको अवधारणमा रु २० करोड लगानी गरेर सञ्चालनमा ल्याउनुभएको नमोबुद्ध आयलस्टोर बाढीले बगायो । पाँच रोपनीमा पेट्रोल व्यवसाय सुरु गरेको एक दशक बिते पनि लगानी थप गरेर नमुना बनाएको दुई वर्ष बितेको थियो ।

“जापानमा १२ वर्ष बगाएको पसिनाको पौरख शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढीले बालुवामा मिलाइदियो । नगद पैसा पनि निकाल्न पाइन् । अघिल्लो दिनमात्रै तेल लोड गरेको थिए । त्यो तेलको तीन वटा टयाङ्की, चार वटा मेसिनसहित आयलस्टोर, अफिस कोठा, शौचालय, क्याफे केही बाँकी राखेन, सबै बगायो”, व्यवसायी घिसिङले भक्कानिँदै पीडा सुनाए।

सुनकोसी गाउँपालिका–२ रम्तेल टोलीकी सीता सार्कीको यतिबेला रुबाबासी छ । वडा सदस्यसमेत रहेकी सीताको टोल नै पहिरोको जोखिममा छ । घर माथि र आँगन तलबाट पहिरो खसिरहेको छ । केही घरमा क्षति भइसकेको छ । “यो विपद्को बेलामा म एक्लै छु । दुई छोराबुहारी काठमाडौँ छन् । बिहे गरेर दिएका छोरी आफ्नै घर छन् । आफू बसेको गाउँ नै पहिरोको चपेटामा छ । सुनकोसी नदीतिरको बस्ती बाढीले डुबाएको छ । अब म सुरक्षितसँग बस्न कहाँ जानु ?”, पहिरो प्रभावित सीता सार्कीले दुःखेसो गरिन् ।

ठाउँठाउँमा खसेको पहिरो, खोला, खहरे र नदीमा आएको बाढीले गाउँबस्ती, बजार, होटल तथा रिसोर्ट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, खानेपानीका आयोजना, ठूलासाना पक्की तथा झोलुङ्गे पुललगायत सरकारी वा गैरसरकारी भवनमा हानी गरेको छ । बस्दै आएको घर भत्काउँदा तथा बगाउँदा बाढी, पहिरो प्रभावित विचल्लित भएका छन् ।

फिक्कल गाउँपालिकामा मात्रै तीन सय छ घरपरिवार बाढी, पहिरोका कारण प्रभावित छन् । उपाध्यक्ष राजु बरालका अनुसार पहिरोका कारण वडा नं ३ पोखरीमा ६० घर, वडा नं २ खोलागाउँमा २९ घर, वडा नं ४ खाङ्साङमा ६२ घर, वडा नं। ५ सोल्पाठानामा ७५ घर, वडा नं ६ रत्नावतीमा ७९ र वडा नं १ महादेवडाँडामा एक घरपरिवार पहिरोबाट प्रभावित छन् ।

छ सय ४६ रोपनीमा किसानले लगाएको धानबालीमा क्षति छ । एक सय २० रोपनी खेतीयोग्य जमिन कटान भएको छ । पाँच सय २६ रोपनी जमिन पुरिएको छ । बाढीले कृषि तथा पशुपक्षीका पाँच वटा फर्म, सात वटा फलफूल बगैँचा बगाएको छ । बाढी, पहिरोले ५० वटा विद्युत्का खम्बामा क्षति गरेपछि असोज ११ गतेदेखि विद्युत् अवरुद्ध छ । विद्युत् अवरुद्ध हुँदा फिक्कल गाउँपालिकामा आठ हजार नागरिक एक सातादेखि अँध्यारोमा बस्न बाध्य छन् ।

प्रतिक्रिया